कपिल जम्कट्टेल
धादिङ जेष्ठ १०
विद्यार्थीहरुलाई रुचि अनुसारको शिक्षा प्रदान गर्न र नियमित पठन पाठनको अलाबा उनीहरुको शारीरिक, मानसिक र सर्वाङ्गिण विकास गर्नका लागि जिल्लाकै संस्थागत विद्यालयतर्फको पुरानो विद्यालय सुनगाभा एकेडेमीले पौडी कक्षा सुरु गरेको छ । विद्यार्थीहरुलाई कक्षामा अध्यापन मात्र गराएर हुदैन बाहिरी वातावरणसँग घुलमिल गराएर उनीहरुको चाहना अनुसार मनोरञ्जनात्मक ढङ्गले विभिन्न सीपहरुको पनि विकास गर्नुपर्छ भन्ने कुरालाई मध्यनजर गर्दै पौडी कक्षा सुरु गरिएको विद्यालयका निदेर्शक रामहरि अधिकारीले बताउनु भयो ।
कक्षा २ देखि ९ सम्मका विद्यार्थीहरुलाई सहभागी गराइएको पौडी कक्षामा छात्रा र छात्रको छुट्टै समुह बनाइ प्रयोगात्मक रुपमा पौडी खेल्ने तरिका, अपनाउनुपर्ने सावधानिका विषयमा पौडीका प्रशिक्षकहरुले प्रयोगात्मक रुपमा सिकाउने विद्यालयका प्रधानाध्यापक बद्रि लम्सालले बताउनु भयो ।
उल्लेख्य रुपमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको पौडी कक्षामा कक्षा २ देखि ९ सम्मका करिब १ सय २० जना विद्यार्थीहरु रहेका छन् । धादिङ क्रिक रिसोर्टसगँको सहकार्यमा आयोजना गरिएको पौडी कक्षामा विद्यार्थीहरुले पौडी खेल्ने तरिका साथै उनीहरुको शारीरिक व्यायाम पनि भइ स्वस्थ र फुर्तिलो रहन मदत पु¥याउने विद्यालयका सहायक प्रधानाध्यापक गोकर्ण अधिकारीले बताउनु भयो ।
विद्यालयले पौडी कक्षा मात्र नभएर नियमित रुपमा तेक्वान्दो कक्षा पनि सञ्चालन गर्दै आएको छ । आगमी दिनहरुमा नृत्य कक्षा, भाषण कक्षा, हस्तकलासँग सम्बन्धित कक्षाहरु, विज्ञान र प्रविधि कक्षा सञ्चालन गर्दै जाने र विद्यार्थीहरुलाई किताबी किरो होइन विभिन्न ज्ञान, सीप, प्रविधि र क्षमताको विकास गराउने उद्देश्य रहेको प्रधानाध्यापक लम्सालले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस