धादिङ १७ कार्तिक
धादिङको नीलकण्ठ नगरपालिकाको चरम लापरबाहीका कारण नगरभित्रका विद्यालयका शिक्षक तथा कर्मचारीहरु कोरोना बिमा उपभोग गर्नबाट बन्चित भएका छन् । देशैभर कोरोना सङ्क्रमण फैलिएसँगै नगरपालिकाकाले नगरभित्रका सबै सामुदायिक विद्यालयका शिक्षक कर्मचारीको निःशुल्क कोरोना बिमा गराइदिने घोषणा गरेता पनि नगरभित्रका कुनै पनि विद्यालयका शिक्षक कर्मचारीहरुको कोरोना बिमा नगरिदिएको पाइएको छ । नगरपालिकाका पदाधिकारीहरुले सस्तो लोकप्रियताका लागि आश्वासन मात्र बाढेको र चरम लापरबाहीका कारण कोरोना पोजेटिभ देखिएता पनि बिमा बापतको रकम उपभोग गर्न नपाएको शिक्षकहरुको गुनासो छ । नगरभित्रका करिब १५ जना शिक्षकहरुमा कोरोना पोजेटिभ देखिएता पनि उनीहरुले कोरोना बिमाबापतको रकम उपभोग गर्न पाएका छैनन् ।
महेन्द्र माध्यमिक विद्यालय नीलकण्ठ २ की प्रधानाध्यापक जानुका कंडेल बताउनु हुन्छ । “हामीले नगरपालिकाले दिएको समयसीमाभन्दा अगावै आवश्यक कागजात तयार गरेर नगरपालिकामा पेस गरेका हौँ तर नगरपालिकाको ढिलासुस्ती र लापरबाहीले गर्दा हाम्रै विद्यालयका शिक्षकमा कोरोना पोजेटिभ देखिएता पनि उहाँले कोरोना बिमा बापतको उपचार खर्च पाउनु भएन ।”
कोरोना बिमा गरेबापत कोरोना पोजेटिभ देखिएमा रु. १ लाख उपचारखर्च पाउने गरी विमा कम्पनीहरुले नागरिकको कोरोना बिमा गराएका छन् ।
कोरोना बिमा सबै विद्यालयका शिक्षक कर्मचारीको गरिएको छ । तर विद्यालयहरुले आवश्यक कागजपत्र ढिला पेस गरेका कारण समयमै बिमा गराउन नसकिएको र कोरोना पोजेटिभ देखिएका शिक्षकहरुले बिमाबापत पाउने रकम उपभोग गर्न नपाएको नगरपालिकाका शिक्षा शाखा प्रमुख तुल बहादुर महतले बताउनु भयो । सगरमाथा इन्सुरेन्स कम्पनी धादिङका प्रमुख विष्णु श्रेष्ठले भने बिमा रकम माग दाबी गर्न बिमितले बिमा गराएको कम्तिमा १ महिना पुग्नुपर्ने भएकाले सो समय नपुगेका बिमितहरुले बिमा बापतको रकम प्राप्त गर्न नसकेको बताउनु भयो ।
यता विद्यालयका प्रधानाध्यापकहरुले भने भदौको पहिलो हप्ता नै आवश्यक कागजात पेस गरिसकिएको बताउदै नगरपालिकाले विद्यालयललाई दोष दिएर उम्किन खोजेको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस