धादिङ ०१ कार्तिक
नजिकिदै गरेको दशै तिहार लगायतका चाडपर्वलाई मध्ये नजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङले शनिबार पृथ्वीराजमार्ग क्षेत्रका होटल तथा रेष्टुरेन्टहरुको अनुगमन गरेको छ । होटल व्यवसायीहरुले यात्रुहरुसँग खाना खाजाको चर्को मूल्य लिने गरेको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लको नेतृत्वको टोलीले धुनिबेसी नगरपालिकाको खानीखोला र नौविसे बजार क्षेत्रमा सञ्चालित होटलहरुको अनुगमन गरेको हो । अनुगमनको क्रममा बजार क्षेत्रमा सञ्चालित अधिकासं होटलहरुमा मूल्यसुची समेत नभएको, चिजबल, जुस, कोकाकोला र रक्सी लगायतका समानहरुको म्याद नाघिसकेकोे पाइएको छ । शनिबार पृथ्वी राजमार्ग क्षेत्रमा सञ्चालित करिब १५ वटा होटल तथा रेष्टुरेन्टहरुको अनुगमन गर्दा धुनिबेसी नगरपालिका वडा नम्बर ८ स्थित नौविसेमा सञ्चालित मनिस रुवालको होटल कारबाहिमा परेको छ । उक्त होटलको इजाजत पत्र नभएको र बिना दर्ताको पसलमा मदिरा बिक्री वितरण गरेकाले रु ५ हजार रुपैंया जरिवाना सहित कारबाही गरिएको हो । यस्तै पृथ्वीराजमार्ग क्षेत्रमा सञ्चालित होटलहरुमा मूल्य सूची नराखेको, साइनबोर्ड, नापतौलको प्रमाण, स्थायी लेखा नम्बर, दर्ता, खरिद बिलहरु नभएको पाइएको छ । अनुगमनको क्रममा म्याद नाघेका सामानहरु जिल्ला प्रशासन कार्यालय धादिङले जफत गरेको छ । अनुगमन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल, उद्योग बाणिज्य संघ धादिङका अध्यक्ष रुद्र बहादु खत्री, घरेलु तथा साना उद्योग कार्यालय धादिङका प्रमुख किशोर सापकोटा, राजेन्द्र प्रसाद कोइराला, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धादिङका नवराज श्रेष्ठको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस