नेल्टा धादिङका उपाध्यक्ष एवं नीलकण्ठ बहुमुखी क्याम्पस धादिङका अङ्ग्रेजी विषयका प्राध्यापक युवराज सुवेदीसँग रेडियो विहानी र टुकी नेपाल समाजको सहकार्यमा सञ्चालित रेडियो कार्यक्रम शैक्षिक सरोकारमा प्रस्तोता सञ्जय देवकोटाले गर्नु भएको कुराकानीको सम्पादित अंश ।
विशेष गरी सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि अङ्ग्रेजी विषय निकै नै कठिन र अप्ठ्यारो लाग्ने गर्छ । पढाउने शैलीको विकास गर्न नसकेर हो कि यो आफैँमा कठिन विषय हो ?
सबै भाषा सरल छन् । सबै भाषा त्यतिकै गहन छन् । अप्ठ्यारो भन्ने कुनै भाषा नै हुदैनन् । सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भन्दा हामीले बालबालिकाहरुलाई कस्तो वातावरणमा पढाउँछौँ र कति समय उनीहरुको लागि छुट्याएका छौँ ? भन्ने कुरा महत्त्वपूर्ण हुन्छ । बालबालिकाहरुलाई जुन भाषाको जानकारी दियो त्यसमा राम्रो हुने हो तर सरकारी स्कुलहरुमा के हुन्छ भने एउटा मात्र अङ्ग्रेजी विषय पढाइ हुन्छ । यसमा पनि शिक्षकहरुले अङ्ग्रेजी बोल्दा अङ्ग्रेजी भाषा प्रयोग गरेर पठाउँदा विद्यार्थीले बुझ्दैनन् भन्ने धारणा जुन छ । बच्चाहरुले १ हप्ता बुझ्दैनन् । १ महिना बुझ्दैनन् । विस्तारै उनीहरुलाई बुझ्न कर लाग्छ । सरकारी विद्यालयमा पढाउँने शिक्षकहरुमा सिस्टम नभएको देखिन्छ । तर उहाँहरु सबैजना तालिमप्राप्त शिक्षकहरु हुनुहुन्छ । तैपनि त्यसको सदुपयोग नभएको देखिन्छ । कुनै पनि शिक्षकले पढाउँदा पाठ घोकाउँने होइन उनीहरुले महसुस गर्ने गरी पढाउनु पर्छ । तर शिक्षकहरुले पढाउँने भन्दा सिकाउँनेतर्फ बढी ध्यान दिनुपर्छ । उनीहरुको क्षमता विकासका लागि हप्तामा १ दिन अङ्ग्रेजी पत्रपत्रिकाहरु पढ्न लगाउनु पर्छ । जसले गर्दा विद्यार्थीमा अङ्ग्रेजी भाषा बुझ्न तथा पढ्न सजिलो हुन्छ । टेलिभिजनमा प्रशारण हुने अङ्ग्रेजी कार्यक्रमहरु हेर्ने, युवट्युवहरुमा पनि बालबालिकाहरुको लागि विभिन्न कार्यक्रमहरु उपलब्ध हुन्छन् । ती त्यस्ता कार्यक्रमहरु हेर्नु प¥यो । शिक्षकले पनि ४५ मिनेटको समयमा सामान्य तरिकाले अङ्ग्रेजी नै बोल्नुप¥यो । जतिसक्यो बालबालिकाहरुलाई सक्रिय गराउनु पर्छ । हामीले विद्यार्थीहरुलाई अङ्ग्रेजीमा राम्रो गराउने हो भने वि.वि.सि, सि.एन.एन जस्ता समाचार सुन्ने र हेर्ने गर्नुपर्छ । त्यस्तै अङ्ग्रेजी किताबहरु पढ्न लगाउने, प्रख्यात लेखकका किताबहरु पढ्न लगाउने गर्नुपर्छ । त्यसले बालबालिकाहरुको अङ्ग्रेजीमा स्वतः विकास भइरहेको हुन्छ । अङ्ग्रेजीमा मुख्य गरी ४ ओटा कुरामा ध्यान दिनुपर्छ । जस्तै बोल्ने, लेख्ने, सुन्ने र भन्ने । यी चार कुरालाई ध्यान दिइयो भने अङ्ग्रेजी असफल हुने, पछि पर्ने विद्यार्थीहरुलाई धेरै सहयोग पुग्छ । फेरी पनि जान्ने नजान्ने भन्ने हुँदैन । सबै बच्चाहरुको क्षमता बराबर हुन्छ ।
भाषा सिक्नको लागि उमेरले कतिको प्रभाव पार्छ ?
उमेर एकदमै महत्त्वपूर्ण कुरा हो । भाषा सिक्दा उमेरले पनि भूमिका खेलेको हुन्छ । ४ देखि ६ वर्ष उमेरका बालबालिकाहरुले बोल्ने भाषाका लागि चाहिने सबै शब्दहरु सिक्न सक्दछन् । हामीहरुले सरकारी विद्यालयमा पनि सानैबाट अङ्ग्रेजी पढ्ने वातावरण सिर्जन ागर्न सक्छौँ । हाम्रो मानसिकता के छ भन्दा खेरी सरकारी विद्यालयमा अङ्ग्रेजी विषय भनेको गाह्रो विषय हो । विद्यार्थीले सक्दैन, विद्यार्थीको क्षमता छैन भन्ने मानसिकता छ तर सबै विद्यार्थीमा गर्ने र सिक्न सक्ने क्षमता हुन्छ । शिक्षकहरुले १० देखि ४ बजेसम्म विद्यार्थीहरुलाई कति समय अङ्ग्रेजीको लागि दिनुभयो भन्ने कुरामा पनि ध्यान दिनुपर्छ । साथै हरेक विद्यालयमा प्रोजेक्टर, इन्टरनेको उपलब्धता हुनुपर्छ । किनभने हामीले धेरै कुराहरु इन्टरनेटको माध्यमबाट सिक्न र सिकाउँन सक्छौँ । प्रोजेक्टरको माध्यमबाट अडियो भिडियोहरु देखाउँने तथा सुनाउँने, उनीहरुलाई मनपर्ने अङ्ग्रेजी कार्यक्रमहरु हेरेर त्यसको बारेमा एक हरफ लेख्न लगाउने जस्ता कृयाकलापहरु ग¥यौँ भने अङ्ग्रेजीमा केही सुधार गर्न सकिन्छ । विद्यार्थीहरुले कसरी पढाउँदा बुझ्छन् ? कस्तो उपाय शिक्षणमा अपनाउँदा विद्यार्थीहरुले राम्रोसँग सिक्न सक्छन् ? भन्ने कुराको पनि ज्ञान शिक्षकहरुमा कमै छ । अर्थात भनौँ शिक्षकहरुलाई तालिम दिनुपर्ने आवश्यकता देखिन्छ । अङ्ग्रेजी आफैँमा अप्ठ्यारो विषय होइन । यो त के हो भन्दा अङ्ग्रेजी विषय गाह्रो हुन्छ भन्ने हाम्रो मानसिकता मात्र हो । विद्यार्थीहरुलाई पढाउँने भन्दा पनि सामुहिक कामहरु गर्न लगाउने जसले गर्दा उनीहरुले आफूले गरेको कामबाट पनि ज्ञान प्राप्त गर्न सक्दछन् । बच्चाहरुको रुचि अनुसार हामीले पढाउन सकिरहेका छैनौँ । शिक्षणमा बच्चाहरुको उमेर, तह र उनीहरुमा सिक्ने इछाशक्तिको छ । यी तीन कुरा जान्नु महत्त्वपूर्ण हुन्छन् । विद्यार्थीहरुलाई साथी जस्तो व्यवहार गर्ने, विद्यार्थीहरुलाई पिटेर वा घोकाएर उनीहरुले सिक्न सक्दैनन् । हामीले उनीहरुसँग साथीको जस्तो व्यवहार गर्ने, सम्झाएर, पढाउँन सकिन्छ । सबै विद्यालयमा कम्प्युटर ल्याबको व्यवस्था छ । इन्टरनेटको माध्यमबाट हप्तामा २ दिन, ३ दिन युवट्युबहरुको माध्यमबाट पाठ्यक्रममा दिएका विषयहरुको बारेमा पनि हामीले खोज्न सक्छौँ । हामीसँग स्रोत साधनहरु छन् । नभएको होइन । त्यसको उपयोग गर्न सकिन्छ । तर सबै शिक्षकहरुलाई प्रविधिको बारेमा थाहा नहुन सक्छ । शिक्षकहरुलाई पनि त्यसको बारेमा तालिमहरु दिएर प्रविधिको बारेमा जानकारी दिन सक्छौँ ।
नेल्टा धादिङले कस्ता कस्ता कार्यक्रमहरु सञ्चालन गरिराखेको छ ? आगामी कार्यक्रम के के छन् ?
गरिब र सरकारी स्कुलमा पढ्ने ४० जना बालबालिकाहरुलाई हामीले आदर्श क्याम्पस गजुरीमा निःशुल्क कक्षा सञ्चालन गर्न ४ जना शिक्षकहरु नेल्टाले नै छानेर २० जना विद्यार्थीहरुलाई २ जना शिक्षकको दरले कक्षा सञ्चालन गरिरहेका छौँ । त्यस्तै कार्यक्रम हामीले फेरी केन्द्रबाट माग्दै छौँ । यसको उपलब्धी राम्रो छ । विद्यार्थीहरुले पनि आशा गरेभन्दा बढी सिकेको महसुस गरेका छन् । सरकारी तथा बोर्डिङमा पढाउने शिक्षकहरुले पनि यस्ताखाले तालिम लिन चाहनु भयो भने नेल्टा धादिङले निःशुल्क तालिमहरुको आयोजना गर्द छ ।
प्रतिक्रिया दिनुहोस