धादिङ २७ असोज
नजिकिदै गरेको दशै तिहार लगायतका चाडपर्वलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धादिङको अगुवाइमा मङ्गलबार धादिङबेसी बजार क्षेत्रका खाद्यान्न पसलहरुको अनुगमन गरिएको छ । व्यापारीहरुले ग्राहकहरुसँग सामानहरुको चर्को मूल्य लिई विक्री वितरण गरेको गुनासो आउन थालेपछि जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लको नेतृत्वको टोलीले बजार क्षेत्रमा अनुगमन गरेको हो । अनुगमनको क्रममा बजार क्षेत्रका अधिकांश पसलहरुमा साबुन, चिजबल, खाने तेल, जुस लगायतका म्याद गुज्रिएका सामानहरु विक्रि वितरण गरेको पाइएको छ । असोज १ गतेदेखि सुरुवात भएको बजार अनुगमनमा हालसम्म एक सय पसलहरुको अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मल्लले बताउनु भयो । अनुगमनकै क्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ स्थित गणेश मार्गमा सञ्चालित एक खाद्यान्न पसल कारबाहिमा परेको छ । उक्त पसलको इजाजत पत्र नभएको र बिना दर्ताको पसलमा मदिरा बिक्री वितरण गरेकाले रु. ५० हजार रुपैंया जरिवाना सहित कारबाही गरिएको मल्लले बताउनु भयो । अनुगमनका क्रममा व्यापारीहरुले मूल्य सूची नराखेको, साइनबोर्ड, नापतौलको प्रमाण, स्थायी लेखा नम्बर, दर्ता तथा सामान खरिद गरिएका बिलहरु नभएको पाइएको छ । अनुगमनको क्रममा म्याद नागेका सामानहरु जिल्ला प्रशासन कार्यालय धादिङले जफत गरी मङ्गलबार नै घरेलु तथा साना उद्योग कार्यालय धादिङको परिसरमा नष्ट गरेको छ । यता चाडबाडका बेलामा मात्र अनुगमन गरेजस्तो गर्ने सरकारी संयन्त्रको परम्परागत सोचका कारण दिनदिनै चर्को मूल्यमा तथा म्याद गुज्रिएका सामानहरु उपभोग गर्नपरेको उपभोक्ताहरुको गुनासो रहेको छ ।
प्रतिक्रिया दिनुहोस