धादिङ २७ असोज
गजुरी गाउँपालिकाले वडा नं. ८ मा रहेको किराञ्चोक स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । मङ्गलबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेत उपाध्यक्ष सीता ढुङ्गानाले किराञ्चोक एम्बुलेन्स सञ्चालक समितिलाई उक्त एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो । आफ्नो चुनावी घोषणापत्रमै गजुरी गाउँपालिकाभित्र रहेका साविकका गजुरी, पीडा र किराञ्चोक ३ वटै गाविसमा १/१ वटा एम्बुलेन्स खरिद गर्ने र गाउँपालिकाका ८ वटै वडामा स्वास्थ्य इकाई सञ्चालन गर्ने प्रतिबद्धता जनतासामु गरेकाले अब ३ वटै गाविसमा एम्बुलेन्स पुगेको र सबै वडामा आफ्नै भवनमा स्वास्थ्य इकाई सञ्चालन भैसकेकाले जनतासामु गरिएको बाचा पुरा भएको गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतले बताउनु भयो । अध्यक्ष बस्नेतले गजुरी गाउँपालिका राजमार्ग क्षेत्रमा भएको र दिनहु जसो राजमार्गमा दुर्घटना हुने भएकाले मृतकको दाहसस्कार तथा पोष्ट मार्टमका लागि सहज होस् भन्ने हेतुले यो आर्थिक वर्षमा सब बाहन खरिद गर्ने योजना रहेको समेत बताउनु भयो ।
कार्यक्रममा उपाध्यक्ष सीता ढुङ्गानाले गजुरी गाउँपालिकाले जनअपेक्षा अनुसार काम गर्दै गएकाले जनताबीच गरिएका प्रतिबद्धताहरु बिस्तारै पुरा गर्दै गएको बताउनु भयो । उपाध्यक्ष ढुङ्गानाले साविकका ३ वटै गाविसमा एम्बुलेन्स सञ्चालनमा आएपछि विशेषगरी गर्भवती महिलालाई प्रशुतीको समयमा सहजता प्रदान गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
गजुरी गाउँपालिका वडा नं. ८ का अध्यक्ष राजकुमार ढुङ्गानाको अध्यक्षता रहेको उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्र विक्रम बस्नेतको प्रमुख आतिथ्यता, उपाध्यक्ष सीता ढुङ्गाना र प्रमुख प्रशासकीय अधिकृत राजन घिमिरेको विशिष्ट आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा वडा नं. ७ का अध्यक्ष केशव अधिकारी, गाउँपालिकाका स्वास्थ्य संयोजक डा. रामहरि रेग्मी लगायतको आतिथ्यता रहेको थियो । गत आर्थिक वर्षको बजेटमा रु. १५ लाख विनियोजन गरिएता पनि टेन्डरमार्फत रु. १० लाख ९७ हजार ८ सय ४८ मा एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाका सूचना अधिकारी विवेक नेपालले जानकारी दिनुभयो । गाउँमा एम्बुलेन्स सञ्चालन भएपछि गाउँबासीमा खुसी छाएको किराञ्चोक एम्बुलेन्स सञ्चालक समितिका संयोजक रेशम बस्नेतले बताउनु भयो । बस्नेतले यो भन्दा अगाडि बिरामी भएर अस्पताल जानपर्दा बाहिरबाट एम्बुलेन्स बोलाउनुपर्ने र समयमै नआइपुग्दा बिरामीहरुको स्वास्थ्य अवस्था थप जटिल हुने खतराबाट गाउँबासी मुक्त भएको समेत बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस