धादिङ २१ असोज
जिल्ला समन्वय समिति धादिङको चौथो जिल्ला सभा तथा वार्षिक प्रगति समीक्षा सम्बन्धी दुई दिने गोष्ठी बुधबारदेखि धादिङबेसीमा सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका उप प्रमुख विन्दा बरामले विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउनका कारण जिल्लाको विकास निर्माण, सेवा प्रवाह र जनताको दैनिक जनजीवनमा परेको प्रतिकुल प्रभावको बारेमा जानकारी गराउनु भएको थियो । उपप्रमुख बरामले जिल्लाको समग्र विकासलाई योजनावद्ध रुपमा व्यवस्थित र प्रभावकारी बनाउन संघ/प्रदेश र स्थानीय तहबीच सहकार्य र समन्वय गदै जनसहभागिता, उत्तरदायित्व र पारदर्शीता सुनिश्चित गरी सुलभ र गुणस्तरीय सेवा प्रवाह गर्नु पर्नेमा जोड दिनु भयो । धादिङ जिल्लाका १३ वटै स्थानीय तहमा सरकार, कार्यकारी र न्यायिक अधिकार सहित क्रियाशील रहेको बताउँदै स्थानीय सरकारले आर्थिक वर्षको बजेट तर्जुमादेखि कार्यान्वयनसम्म र चालु आर्थिक वर्षको बजेट तर्जुमा कार्यान्व्यनमा जनसहभागिता र जनउत्साह बढाउँदै अगाडि बढेको बरामले जानकारी गराउनु भएको थियो । कार्यक्रममा उपप्रमुख बरामले जिल्ला समन्वय समिति धादिङले आर्थिक वर्ष २०७६/०७७ मा भए गरेका मुख्य कार्यक्रमहरु, आर्थिक बजेट सम्बन्धी १६ बुँदे र आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रमहरु लगायत २४ बुदे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको अध्यक्षता रहेको कार्यक्रममा प्रतिनिधि सभा सदस्य खेमप्रसाद लोहनीको प्रमुख आतिथ्यता, प्रतिनिधि सभाका सदस्य भूमिप्रसाद त्रिपाठी, बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेल, बागमती प्रदेशका प्रदेश सभा सदस्य राजेन्द्र प्रसाद पाण्डे, जगत सिंखडाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा १३ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रसासकीय अधिकृतहरु लगायत विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस