धादिङ १८ असोज
धादिङमा नेपाली काङ्ग्रेस परित्याग गरी नेकपामा प्रवेश गर्नेहरुको लहर चलेको छ । जिल्लाको नीलकण्ठ नगरपालिका, नेत्रावती डबजोङ गाउँपालिका, ज्वालामुखी गाउँपालिका लगायत १३ वटै पालिकामा नेपाली काङ्ग्रेस परित्याग गरी नेकपा प्रवेश गर्नेहरुको लहर चलेको हो । आइतबार नीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित वलीडाँडामा नेपाली काङग्रेसका वडा सचिव सहित ५० जना नेकपामा प्रवेश गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नीलकण्ठ नगरपालिका २ वडा संगठन कमिटी धादिङले आयोजना गरेको पार्र्टी प्रवेश कार्यक्रममा नेपाली काङग्रेसका वडा सचिव टोप बहादुर थापा(सुरेश) को नेतृत्वमा नेकपा प्रवेश गरेका हुन् । नेकपा प्रवेश गर्नेहरुमा नेपाली काङ्ग्रेस नीलकण्ठ २ का सचिव टोप बहादुर थापा सहित तरुण दल वडा सभापति रिभर थापा मगर, नेपाली काँग्रेस वडा सदस्य एवम् सोह्रघरे आधारभुत विद्यालयका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ लगायत ५० जना रहेका छन् । पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नीलकण्ठ नगरपालिका वडा नं. २ का अध्यक्ष राजेश गुरुङको सभापतित्व तथा नेकपा धादिङका अध्यक्ष नेत्र पौड्लको प्रमुख आतिथ्यता र नेकपा नेता एवं बागमती प्रदेश सभा सदस्य डा. रामकुमार अधिकारी, नीलकण्ठ नगरपालिका धादिङका उप प्रमुख मनराज भण्डारी लगायतको आतिथ्यता रहेको थियो । यस्तै शनिबार जिल्लाको नेत्रावती डबजोङ गाउँपालिकामा करिब ३ सय जना नेता तथा कार्यकर्ताहरु नेपाली काङ्ग्रेस परित्याग गरी नेकपा प्रवेश गरेको नेकपा धादिङका अध्यक्ष नेत्र पौडेलले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस