धादिङ १७ असोज
नीलकण्ठ नगरपालिकाभित्र रहेका सम्पूणर् विद्यालयहरुको कक्षा ११ को परीक्षा यही असोज २९ गतेबाट सञ्चालन हुने भएको छ । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड १९) का कारण बैशाखमा स्थगित भएको कक्षा ११ को परीक्षा विद्यालय आफैले सञ्चालन गर्न पाउने भएपछि असोज २९ गतेदेखि सञ्चालन हुन लागेको हो । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयले नयाँ कार्यविधि तयार पारेसँगै सोही कार्यविधिलाई आधार मानेर कक्षा ११ को परीक्षा गर्न लागिएको नीलकण्ठ नगरपालिका धादिङका शिक्षा शाखाका स्रोतव्यक्ति मेघनाथ कोइरालाले जानकारी दिनुभयो । नगरपालिकाभित्र भएका विद्यालयहरुमा एकरुपता कायम होस् भन्ने उद्देश्यले आगामी असोज २९ गतेबाट परीक्षा सञ्चालन गर्न लागिएको स्रोतव्यक्ति कोइरालाले बताउनु भयो । आगामी असोज २९ गतेदेखि सञ्चालन हुने परीक्षाको लागि नीलकण्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक ध्रुब अधिकारीको संयोजकत्वमा ३ सदस्यीय परीक्षा सञ्चालन समिति समेत गठन गरिएको छ । जसमा चण्डेश्वरी माध्यमिक विद्यालयका सबिता सिंखडा तथा धादिङ बोर्डिङ स्कुलका ईश्वरी प्रसाद पाण्डे सदस्य रहेका छन् । उक्त समितिले परीक्षा सञ्चालनका लागि आवश्यक कार्यविधि तयार गर्नुका साथै अनिवार्य विषयको प्रश्नपत्र समेत तयार गर्ने संयोजक अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस