धादिङ १६ असोज
राष्ट्रिय गौरबको विषयमा रहेको बुढीगण्डकी परियोजनाको निर्माण कार्य कुनै पनि हालतमा नरोकिने बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनी मन्त्री शालिग्राम जम्कट्टेलले बताउनु भएको छ । शुक्रबार धादिङबेसीमा पारस्परिक जवाफदेहिता स्थानीय अभियान नारा सहित भएको धादिङ विकास वहसमा बोल्दै जम्कट्टेलले सो कुरा बताउनु भएको हो । बुढीगण्डकी परियोजनाबाट धादिङतर्फका पीडितहरुको समस्या समाधान भए पनि मलेखु धादिङबेसी सल्यानटार सडकलाई राष्ट्रिय लोकमार्ग बनाउने निणर्यले फेरी समस्या उत्पन्न भएको बताउनु भयो । बागमती प्रदेश सरकारले विकास निर्माण कार्यलाई निरन्तर रुपमा अगाडि बढाएको र बिशेष गरी युवा लक्षित कार्यक्रमलाई पहिलो प्राथमिकता दिएको बताउनु भयो ।
यस्तै मन्त्री जम्कट्टेलले कोरोना भाइरस (कोभिड १९) को रोकथाम तथा नियन्त्रणको लागि सबैले सहयोग गर्नु पर्नेमा जोड दिनु भयो । अर्को प्रसंगमा बोल्दै जम्कट्टेलले धादिङ अस्पतालको आइसोलेसन निर्माणका लागि प्रदेश सरकारले ७५ लाख रकम विनियोजन गरेको समेत बताउनु भयो । यस्तै नीलकण्ठ नगरपालिका धादिङका मेयर भिम प्रसाद ढुङगानाले सरकारी कार्यालयहरु तथा सार्वजनिक स्थलहरु बनाउँदा अपाङगता मैत्री हुनु पर्ने बताउनु भयो । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनी मन्त्री सालिग्राम जम्कट्टेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, नीलकण्ठ नगरपालिका धादिङका मेयर भिम प्रसाद ढुङगना, सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको रेडियो बिहानी, रेडियो धादिङ र नीलकण्ठ एफ.एमले प्रत्यक्ष प्रशारण समेत गरेको थियो ।
प्रतिक्रिया दिनुहोस