धादिङ १५ असोज
अपाङगता भएका व्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता नियमित रुपमा पाउनु पर्ने माग राख्दै राष्ट्रिय लोकतान्त्रिक अपाङग संघ जिल्ला कार्यसमिति धादिङले बिहिबार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । कोरोनाका कारण सरकारले राहत दिनुको सट्टा अपाङगता भएका व्यक्तिहरुको सामाजिक सुरक्षा भत्ता कटौती गरेको र सामाजिक भत्ता वितरणमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले रोक लगाएको, सामाजिक सुरक्षा ऐन २०७५ निमावली तुरुन्त संसोधन गरी भत्ता नियमित रुपमा उपलब्ध गराउनु पर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो । सरकारले हालसालै जारी गरेको अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धी निमावली २०७७ अनुसार प्रदान गरिने सेवा सुविधाहरुमा अपाङ्गता भएका व्यक्तिहरु बीच रहेको विभेदलाई हटाई अपाङगता प्रकृति र आवश्यकता अनुसार सेवा तथा सुविधा दिने नियमावलीको संसोधन गर्नु पर्ने जस्ता २ बुदँे माग राखिएको छ । राष्ट्रिय लोकतान्त्रिक अपाङग संघ जिल्ला कार्यसमिति धादिङका अध्यक्ष आश्विन लम्सालद्धारा हस्ताक्षरित ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौड्लले अपाङग संघको माग तत्काल प्रधानमन्त्री कार्यालयमा पठाउने र माग छिटो भन्दा छिटो पुरा हुने विश्वास ब्यक्त गर्नु भयो ।
प्रतिक्रिया दिनुहोस