धादिङ १५ असोज
नीलकण्ठ नगरपालिका धादिङको अनुदानमा सञ्चालित पशु वधशालाबाटै सडे गलेको मासु बिक्री भएको पाइएपछि बधशाला सञ्चालक पक्राउ परेका छन् । बिहिबार बिहान धादिङबेसी बजार क्षेत्रमा सडेको मासु विक्री वितरण गरिरहेको अबस्थामा पशु बधशालाका सञ्चालक टेकबहादुर गुरुङलाई जिल्ला प्रहरी कार्यालय धादिङले बिचबजारबाट पक्राउ गरेको हो । यस्तै मासु ढुवानी गर्न प्रयोग हुँदै आएको बा ३ ख २९२५ नम्बरको ट्रकसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार बिहान बीचबजारका विभिन्न मासु पसलहरूमा वधशालाबाट ल्याइएको मासु झार्ने क्रममा दुर्गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जथाभावी पशुबध गर्न रोक लगाउदै नीलकण्ठ नगरपालिकाले वडा नं. ८ मा आधुनिक पशु बधशाला निर्माण गरेको हो । नगरपालिकाले स्वच्छ मासु प्रवर्धन गर्न पशु वधशालालाई साझेदारी कार्यक्रम अन्तर्गत २७ लाख अनुदान समेत दिएको थियो ।
प्रतिक्रिया दिनुहोस