धादिङ ०८ असोज
गंगाजमुना गाउँपालिका धादिङले गाउँपालिकाको योजना तथा कार्यक्रमहरुको अनुगमन तथा सुपरिवेक्षण गर्ने पद्धतिलाई थप प्रभावकारी र सहज बनाउन Solstice App सञ्चालनमा ल्याएको छ । बिहिबार गाउँपालिकाले एक अभिमुखीकरण कार्यक्रम गर्दै Solstice App कार्यान्वयनमा ल्याएको हो । विगतका वर्षहरुमा जस्तै योजना तथा कार्यक्रमहरुको अनुगमन गर्दा कार्यालयबाट आवश्यक कागजात लिई योजना कार्यान्वय स्थलमा जानुपर्ने झन्झटिलो प्रक्रियालाई निराकरण गर्ने उद्देश्यले एप सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले बताउनु भयो । गाउँपालिकाका उपाध्यक्ष एन्जिला तामाङको संयोजकत्वमा गठित योजना तथा कार्यक्रम अनुगमन, सुपरिवेक्षण समितिले योजना कार्यान्वयन स्थलमा गई योजना लागत स्टमेट बमोजिम गरेको छ छैन ? सूचना पाटी राखेको छ छैन ? कामको गुणस्तरीयता, प्रभावकारीता लगायतका विषयमा फाराम भर्नेगरी एप्स निर्माण गरिएको छ ।
साथै स्थलगत अनुगमनमा खिचिएका फोटोहरु उक्त एप्समा अपलोड गरेपछि गाउँपालिकाको योजना तथा अनुगमन शाखाको शाखा प्रमुखको कम्प्यूटरमा स्टोर आउने व्यवस्था गरिएको छ । गाउँपालिकाले यस एप्स प्रयोगमा ल्याएसँगै योजना तथा कार्यक्रमका सम्बन्धमा स्थलगत रुपमा नै के कसरी कार्य भैरहेको छ, उपभोक्ता समिति तथा ठेकेदारले कत्तिको प्रभावकारी ढंगले कामहरु गरिरहेका छन् भन्ने जानकारी एप्समार्फत छिटो छरितो तवरले हेर्न सकिने गाउँपालिकाले जनाएको छ । धादिङ जिल्लाको उत्तरी भेगमा अवस्थित भौगोलिक रुपमा विकट गाउँपालिकाको रुपमा परिचित यस गाउँपालिकालाई प्रविधिमैत्री बनाउन र विद्युतीय शासन पद्धतिको अवलम्वन गरी सुशासन प्रवद्र्धनतर्फ गाउँपालिका उन्मूख रहेको प्रमुख प्रशासकीय अधिकृत रोकाले बताउनु भयो । यसअघि नै गाउँपालिकाले सवै वडाहरुमा अनलाइन पद्धतिबाट विभिन्न प्रकारका घटनाहरु दर्ता गर्ने कार्य सुरु गरिसकेको छ । यस्तै गाउँपालिकाको ५ वटा वडामा गत आर्थिक वर्ष देखिनै सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण भैरहेको छ भने दोस्रो चौमासिकबाट बाँकी वडा नं. १ र २ वडामा समेत बैंक मार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोकाले जानकारी दिनुभयो । गाउँपालिकाका उपाध्यक्ष श्री एन्जिला तामाङको अध्यक्षतामा भएको अभिमूखीकरण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद रोका, ७ वटै वडाका वडा अध्यक्षहरु, शाखा प्रमुखहरु, प्राविधिक कर्मचारी र वडा सचिवहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा प्राबिधिक सहयोग पूर्णिमा परियोजनाका इन्जिनियर प्रवेश गौतमले गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस