धादिङ असोज ७
गएराती परेको अविरल बर्षासँगै आएको पहिरोका कारण अबरुद्ध भएको पृथ्वीराजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ स्थित गलौंदी खोलाको घुम्तिमा माथिको ढिस्को खस्दा यातायात अबरुद्ध भएको थियो । पहिरोेमा परी एउटा भारतीय ट्रक र १ वटा नेपाली ट्रक क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बिहान ८ बजेको समयमा माथिको ढिस्को खस्दा अबरुद्ध भएको सडकखण्ड गजुरी गाउँपालिका र सडक डिभिजन कार्यालय तथा स्थानीयको पहलमा एकतर्फी सञ्चालनमा आएको हो । यस्तै गएराति परेको अविरल वर्षाको कारण मुग्लिन-नारायणगढ सडक खण्ड ठाउँ ठाउँमा अवरुद्ध भएको छ । मुग्लिन-नारायणगढ सडक खण्डको चितवनको इच्छा कामना गाउँपालिका वडा नम्बर ६ चारकिलो डांडा र धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० को जोगिमारामा पहिरो जाँदा सडक खण्ड अवरुद्ध भएको थियो । पहिरो पन्छाएर सडक दुबैतर्फी रुपमा सुचारु गर्ने पहल भैरहेको गजुरी प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस