धादिङ ०३ असोज
मन्त्री परिषदले धादिङको मलेखु-धादिङबेसी-सल्यानटार सडक खण्डलाई राष्ट्रिय राजमार्ग घोषणा गर्ने निणर्य गरेसँगै उक्त सडक खण्डका नागरिकहरु आन्दोलित भएका छन् । भौतिक र्पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको निणर्य बमोजिम नेपाल सरकारको मन्त्रिपरिषदको निणर्यबाट उक्त सडक खण्डलाई राष्ट्रिय राजमार्ग घोषणा गरी सडक वरपर ३१ मिटर कामय गरेसँगै सो सडक वरपरका बासिन्दा आन्दोलित भएका हुन् । सरकारले राष्ट्रिय राजमार्गको मापदण्ड बमोजिम सडकको बीचभागबाट दायाँ-बाँया २५/२५ मिटर र थप ६ र ६ मिटर सडक सीमा कामय गरी दायाँबाया ३१/३१ मिटर कायम हुने निणर्य गरेसँगै त्यसक्षेत्रका १५ सय भन्दा बढी घरधुरीका नागरिकहरु आन्दोलनमा उत्रिएका हुन् । सरकारले भौगोलिक अध्ययन नगरी स्थानीयसँग परामर्श नै नगरी अबैधानिक ढङ्गको निणर्य गरेकाले आफूहरु समस्यामा परेको भन्दै उक्त निणर्य तत्काल खारेज गर्न संघर्ष समितिले सरकारसँग माग गरेको छ । पहाडी क्षेत्रमा ३१ मिटर कायम गर्दा धेरै सुकुम्बासी बन्ने भन्दै संघर्ष समितिले उचित मुआब्जा दिएर समस्या समाधानको लागि पहल गर्न समेत आग्रह गरेको छ । सरकारले राष्ट्रिय राजमार्ग घोषणा गरेसँगै सो सडकका दायाँबायाँ बसोबास गर्ने नागरिकहरुलाई बैँकिङ कारोबारको लागि बैँकले धितो स्वीकार नगर्ने, बनेका भौतिक संरचनाको नक्सा पास नहुने, जग्गा खरिद विक्रीमा समस्या पर्ने भएकाले उक्त अदूरदर्शी र अव्यवहारिक निणर्य तत्काल खारेज गर्नको लागि पनि सरकारसँग माग गरिएको छ । त्यस क्षेत्रका १५ सय घरधुरीका १० हजार ५ सय नागरिहरु मर्कामा परेको संघर्ष समितिका पदाधिकारीहरुको गुनासो छ ।
प्रतिक्रिया दिनुहोस