धादिङ ३१ भाद्र
कोरोना भाइरस(कोभिड १९) का कारण अबरुद्ध विद्यालयीय शिक्षणलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ तत्कालै सुरु गनुपर्नेमा धादिङ जिल्लाका सरोकारवालाहरु सहमत भएका छन् । बुधबार शिक्षा विकास तथा समन्वय इकाई धादिङले आयोजना गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ तथा शिक्षक दरबन्दी मिलान सहजीकरण कार्यशालामा बोल्दै जिल्लाका विभिन्न पालिकाका प्रमुख तथा शिक्षा अधिकृतहरु एवं पेशागत सङ्गठनका प्रतिनिधिहरुले स्थानीय परिवेशलाई मध्यनजर गर्दै शैक्षिक गतिविधि सुरुवात गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष सम्भु कुमार थापाले पालिकाका धेरै सङ्ख्यामा विद्यार्थी भएका विद्यालयमा अल्टरनेटिभ र अरु कक्षाकोठामै पठनपाठन सुरु गर्नुपर्ने बताउनु भयो ।
ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोद तिमल्सिनाले सबै विद्यालयमा शिक्षण क्रियाकलाप सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।
यता नेपाल शिक्षक संघका बागमती प्रदेशका महासचिव दिपक सिंखडाले शिक्षकहरु विद्यार्थीलाई पढाउन आतुर भएकाले राज्यको निर्देशन कुरेर बसेको बताउनु भयो ।
यस्तै नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाले दुरी कायम गरेर पठनपाठन सञ्चालन गर्न सकिने धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्यले शिक्षा मन्त्रालयले नै स्थानीय परिबेस हेरेर कस्तो प्रकृतिको शिक्षण कार्यक्रम सञ्चालन गर्ने भन्ने जिम्मा स्थानीय तहलाई दिएकाले स्थानीय स्तरमा निणर्य गरेर शैक्षिक कार्यक्रम सुरु गर्नुपर्ने बताउनु भयो ।
शिक्षण प्रकृया सञ्चालन गर्ने निणर्य गर्दा केन्द्र प्रदेश र स्थानीय सरकारको नीति र निणर्को अधिनमा रहेर कार्यक्रम अगाडि बढाउन प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले सुझाव दिनुभयो ।
कार्यक्रमका अध्यक्ष समेत रहेका जिल्ला शिक्षा समिति धादिङका अध्यक्ष एवं जिल्ला समन्वय प्रमुख जगन्नाथ नेपालले स्थानीय तहले पठनपाठनको निणर्य गर्दा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गर्न आग्रह गर्नुभयो ।
सरकारले पाठ्यभार, शिक्षण विषयवस्तुलाई कटौति गर्दै बाकी रहेको समयमा सम्पन्न गर्नेगरी यो शैक्षिक सत्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको अध्यक्षता रहेको कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका मेयर भिम प्रसाद ढुङगाना, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भु कुमार थापा, नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष दुर्गा नारायण श्रेष्ठ, शिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोद तिमल्सिना, बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटी, नेपाल राष्ट्रिय शिक्षक महासंघका अध्यक्ष लक्ष्मण शर्मा, प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेल, जिल्ला समन्वय समिति धादिङका उप-प्रमुख बिन्दा बराम, शिक्षा विकास तथा समन्वय इकाई धादिङका प्रमुख अम्बिका प्रसाद आचार्य लगायत विभिन्न गाउँपालिकाका प्रमुख तथा प्रतिनिधिहरु , शिक्षक संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस