धादिङ २९ भाद्र
जनयुद्धका महान् शहिद मुकुन्द सेन(सन्देश) र हरि कार्कीको १८ औँ स्मृति दिवस सोमबार धादिङबेसीमा मनाइएको छ । जनक्रान्तिका शहिद तथा बेपत्ता परिवार समाज धादिङका अध्यक्ष राम बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको स्मृति सभामा संघीय सांसद एवं नेकपा केन्द्रीय सदस्य खेम प्रसाद लोहनीको प्रमुख आतिथ्यता, बागमती प्रदेश सभा सदस्य एवं नेकपा नेता डा. रामकुमार अधिकारीको विशेष आतिथ्यता तथा नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारी लगायत नेकपा नेता तथा कार्यकर्ताहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो । धादिङको सुनौलाबजारमा जन्मिएका मुकुन्द सेन लामो समय जनमोर्चा हुदै तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा पूणर्कालीन हुनुभएको थियो ।
स्थानीय र जिल्लास्तरमै एक कुशल राजनीतिज्ञका रुपमा परिचित सेन र झापा स्थायी घर भएका हरि कार्कीलाई तत्कालीन शाही नेपाली सेनाले २०५९ साल भाद्र २९ गते नेत्रावती डबजोङ गाउँपालिका कटुञ्जेको थर्पु भन्ने ठाउँबाट गिरफ्तार गरी करिब ५ किलोमोटिर तलसम्म घिसार्दै ल्याएर थोपल खोलाको किनारमा गोली हानी हत्या गरेको थियो । नेकपा जिल्ला कमिटी सदस्य हरि अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला कमिटी सदस्य विनोदबाबु रिमालले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमकै अवसर पारी समसामयिक राजनैतिक घटनाक्रम, विकास निर्माणका विषयमा अन्तरकृया समेत भएको थियो ।
प्रतिक्रिया दिनुहोस