धादिङ २७ भाद्र
भुवन भण्डारी
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशुली नदीबाट बालुवा निकाल्न रोक लगाएपछि बालुवा मजदुरहरु समस्यामा परेका छन् । वर्षाको समयमा नदी तथा खोलामा पानीको सतह बढ्ने तथा बाढी आउने हुदा यो समयमा मजदुरहरुको सुरक्षालाई ध्यानमा राखी जिल्ला प्रशासन कार्यालयले वालुवा निकाल्न रोक लगाएको हो । त्रिशुली नदी किनारबाट थुन्सेमा बालुवा झिकी दैनिकी चलाउने मजदुरलाई भने दैनिकी चलाउन समस्या उत्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले त्रिशुली नदी किनारमा असार, साउन र भाद्र महिनामा नदीजन्य उत्खनन् गर्न रोक लगाएपछि बालुवा मजदुरहरुको रोजिरोटी गुमेको हो । आफूहरुले कि त बैकल्पिक व्यवस्था गर्नुपर्ने कि त बालुवा झिक्न दिनुपर्ने भन्दै पटक पटक स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराउदै आएता पनि प्रशासन मौन रहेको मजदुरहरुको गुनासो छ । प्रशासनले त्रिशुली नदी किनारमा मेसिन लागएर बालुवा निकाल्न दिने तर मजदुरहरुलाई थुन्सेमा बालुवा निकाल्न समेत नदिने मजदुरहरुले गुनासो गरेका छन् । अघिल्ला बर्षहरुमा वर्षायाम भएसँगै त्रिशुली नदीले बगाएर ल्याउने बालुवा धादिङका विभिन्न ठाउँहरुमा मजदुरहरुले थुन्सेमा उठाएर बेच्दै आएका थिए । विगतका वर्षहरुमा सहजै रुपमा निकाल्ने गरेता पनि यो वर्ष हालसम्म पनि प्रशासनले रोक लगाएको छ । स्थानीय सरकारले दिएको अधिकार संघीय सरकारको प्रतिनिधिको रुपमा रहेको जिल्ला प्रशासनले रोक लगाउँदा काम गरेर आजै परिवार पाल्नु पर्ने मजदुरहरु समस्यामा परेको मजदुर रजी तामाङले. बताउनु भयो । जिल्लाको गजुरी गाउँपालिका गाउँ कार्यपालिकाले मजदुरहरुले वालुवा निकाल्न पाउने कानुनी व्यवस्था गरी जिल्ला प्रशासन कार्यलय, जिल्ला प्रहरी कार्यालयलाई समेत पत्राचार गर्दै मजदुरहरुरलाई वालुवा निकाली दैनिकी चलाउन सहज बनाएको बताए पनि प्रहरीले धरपकट गर्न छोडेको छैन । धादिङ जिल्ला भई बग्ने त्रिशुली नदी र अन्य साना खोलाहरुबाट वालुवा निकाली करिव दुई हजार मजदुरहरुले दैनिकी चलाउदै आएका छन् । जिल्लाको राजमार्ग क्षेत्रमा सञ्चालित वालुवा प्रशोधन उद्योग(फिरफिरे) ८१ ओटा रहेको छ भने वालुवा मजदुरले पनि यिनै फिरफिरेलाई वालुवा निकाल्दै विक्री गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस