धादिङ १९ भाद्र
नेपाल रेडक्रस सोसाइटीको ५८ औँ स्थापना दिवसको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४८ जना पुरुष र १३ जना महिला गरी ६१ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाको आयोजनामा भएको रक्तदान कार्यक्रम धादिङ अस्पतालको प्राङ्गणमा भएको थियो । बिहान ७ बजेदेखि दिउसो १ बजेसम्म भौतिक दुरी कायम गरी भएको रक्तदान कार्यक्रममा स्वयंसेवी रक्तदाताहरु लगायत रेडक्रसकर्मीहरुको सहहभागिता रहेको थियो । कोरोना भाइरस सङ्क्रमणका कारण धादिङ लगायत देशैभर भएको रगत अभावलाई कम गर्ने उद्देश्यले उक्त रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति नारायण तिमल्सीनाको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नीलकण्ठ नगरपालिका धादिङका उपप्रमुख मनराज भण्डारी, धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक जयन्ती थापा लगायतको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस