धादिङ १८ भाद्र
कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएका कारण आइसोलेशन व्यवस्थापनका लागि यूएम एन धादिङ र सिड्स नेपाल धादिङले संयुक्त रुपमा बिहिबार त्रिपुरासुन्दरी गाउँपालिकालाई आइसोलेसन तथा सरसफाईका सामग्री हस्तान्तरण गरेको छ । त्रिपुरासुन्दरी गाउँपालिकामा कोरोना भाइरस(कोभिड १९) को उच्च जोखिममा रहेको भन्दै उचित व्यबस्थापनको लागि ११ शैयाको आइसोलेसन सहितका मेडिकल र सरसफाईका सामग्रीहरु गाउँपालिकाका अध्यक्ष शम्भु कुमार थापालाई हस्तान्तरण गरिएको हो । संघीय सांसद खेमप्रसाद लोहनीको विशेष पहलमा गाउँपालिकालाई आइसोलेसन तथा मेडिकल बेड, सरसफाईका सामग्रीहरु, मास्क, साबुन, सेनिटाइजर लगायतका १५ प्रकारका सामग्री हस्तान्तरण गरिएको त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र इटनीले जानकारी दिनु भयो । विपदको अवस्थामा गाउँपालिकालाई सरसफाईका सामग्री वितरण गर्ने सहयोगी संस्थाहरुलाई गाउँपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गरिएको अध्यक्ष थापाले बताउनु भयो । त्रिपुरासुन्दरी गाउँपालिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या ४९ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस