धादिङ १५ भाद्र
जनयुद्धका महान् शहिदहरु इन्द्र बहादुर थपलिया(चट्टान), बिन्दा सुवेदी(अनिता) र कमल ढकाल(तराई) को १८ औँ स्मृति दिवस सोमबार धादिङबेसीमा मनाइएको छ । तत्कालीन जनयुद्धका क्रममा धादिङको भुमेस्थानमा २०५९ साल भाद्र १५ गते आजैका दिन ३ जनालाई नै तत्कालीन शाही नेपाली सेनाले कब्जा गरी हत्या गरेको थियो । नेकपा केन्द्र, मोटो मसाल हुदै २०५४ सालमा तत्कालीन नेकपा माओवादीमा पूणर्कालीन हुनुभएका इन्द्र बहादुर थपलिया(चट्टान) धादिङको धुषाका स्थायी बासिन्दा हुनुहुन्थ्यो । तत्कालीन अवस्थमा उहाँको परिवार नै जनयुद्धमा पूणर्कालीन भएको थियो । थपलियाका दुई छोराहरु राजकुमार थपलिया(सुजन) र रामहरि थपलिया(श्याम) ले पनि जनयुद्धको क्रममै सहादत प्राप्त गर्नुभएको छ ।
जनक्रान्तिका शहिद तथा बेपत्ता परिवार समाज धादिङका अध्यक्ष राम बहादुर भण्डारीको अध्यक्षता तथा नेकपा धादिङका नेता बिनोदबाबु रिमाल सरोजले सञ्चालन गर्नुभएको स्मृति दिवसमा नेकपा धादिङका नेता केशरी प्रसाद पन्त, रेडियो बिहानी व्यवस्थापन समिति अध्यक्ष अमृत तामाङ, अनेरास्ववियु केन्द्रीय सदस्य, बिमल तामाङ, नेकपा धादिङका नेताहरु भरत ढुङ्गाना, हेम थापा तामाङ, रेडियो बिहानी ९७.६ मेगाहर्जका स्टेशन म्यानेजर सञ्जय देवकोटा लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै जनक्रान्तिका शहिद तथा बेपत्ता परिवार समाज धादिङका अध्यक्ष राम बहादुर भण्डारीले हजारौँ शहिदहरुको बलिदानीकै कारण देशमा आमूल परिवर्तन सम्भव भएकाले सहिदका सपना र उनीहरुका बिचारलाई आत्मसात गर्दै देश र जनताको निमित्त निरन्तर लागिरहने प्रतिबद्धता जनाउनु भयो ।
प्रतिक्रिया दिनुहोस