धादिङ १४ भाद्र
विश्व बेपत्ता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले आइतबार साझँ कार्यालयको परिसर भित्र दिप प्रज्ज्वल गरेको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको आयोजनामा भएको दीप प्रज्ज्वलन कार्यक्रममा जिल्ला शाखाका सभापति नारायण तिमल्सिनाको अध्यक्षता तथा जनक्रान्तिका शहिद तथा वेपत्ता परिवार समाज धादिङका अध्यक्ष रामबहादुर भण्डारीको प्रमुख आतिथ्यता र नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष दुर्गा कुमार शाक्यको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि राम बहादुर भण्डारीले १० वर्षे जनयुद्धका क्रममा राज्यद्धारा बेपत्ता पारिएका परिवारहरुलाई राज्यको तर्फबाट उचित क्षतिपूर्ति दिन नसकेकोे बताउनु भयो । देशको परिवर्तित अबस्थालाई मध्यनजर गर्दै तत्कालीन माओवादी र ७ राजनैतिक दलहरुबीच भएको शान्ति सम्झौताको १७ औँ वर्ष पुग्न लाग्दा पनि जनयुद्धका क्रममा बेपत्ता भएका योद्धाहरुको सार्वजनिक गर्न राज्यले नसेकोकोप्रति दुःख व्यक्त गर्दै भण्डारीले जनयुद्धकै नेतृत्वकर्ता पार्टीले सरकार सञ्चालन गरेको हालको अवस्थामा बेपत्ता योद्धाहरुको मुद्धा छिनोफानो गर्नुपर्ने जिकिर गर्नुभयो ।
यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति नारायण तिमल्सिनाले बेपत्ता परिवारको आर्थिक, सामाजिक र मानसिक विकासका लागि रेडक्रस सोसाइटीले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिदै बेपत्ता परिवारहरुको जीविकोपार्जनका लागि थप कार्यक्रमहरु सञ्चालन गर्ने पनि प्रतिबद्धता जनाउनु भयो । रेडक्रस धादिङ शाखाका मन्त्री दुलर्भ कुमार तामाङले सञ्चालन गरेको कार्यक्रममा रेडक्रस धादिङका पूर्व सभापतिहरु, सल्लाहकारहरु, वर्तमान पदाधिकारी लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
नेपालमा १० वर्षे जनयुद्धका क्रममा करिब ४ हजारको हाराहारीमा नागरिकहरु बेपत्ता भएको बेपत्ता छानबिन आयोगको तथ्याङ्क छ भने राष्ट्रिय मानवअधिकार आयोगले १ हजार १५ जना बेपत्ता नागरिक रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । सन १९८१ देखि ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकाबाट सुरु भएको विश्व बेपत्ता दिवस अगष्ट ३० मा विश्वभर मनाइने चलन छ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा धादिङ जिल्लाबाट २४ जना बेपत्ता भएका छन् ।
प्रतिक्रिया दिनुहोस