धादिङ १४ भाद्र
१० वर्षे जनयुद्धका क्रममा राज्यद्धारा बेपत्ता पारिएका परिवारहरुलाई राज्यको तर्फबाट उचित क्षतिपूर्ति दिन नसकेको जनक्रान्तिका शहिद तथा वेपत्ता परिवार समाज धादिङका अध्यक्ष राम बहादुर भण्डारीले बताउनु भएको छ । देशको परिवर्तित अबस्थालाई मध्येनजर गर्दै तत्कालीन माओवादी र ७ राजनैतिक दलहरुबीच भएको शान्ति सम्झौताको १७ औँ वर्ष पुग्न लाग्दा पनि जनयुद्धका क्रममा बेपत्ता भएका योद्धाहरुको सार्वजनिक गर्न राज्यले नसेकोकोप्रति दुःख व्यक्त गर्दै भण्डारीले जनयुद्धकै नेतृत्वकर्ता पार्टीले सरकार सञ्चालन गरेको हालको अवस्थामा बेपत्ता योद्धाहरुको मुद्धा छिनोफानो गर्नुपर्ने जिकिर गर्नुभयो । यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति नारायण तिमल्सिनाले बेपत्ता परिवारको आर्थिक, सामाजिक र मानसिक विकासका लागि रेडक्रस सोसाइटीले विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिदै बेपत्ता परिवारहरुको जीविकोपार्जनका लागि थप कार्यक्रमहरु सञ्चालन गर्ने पनि प्रतिबद्धता जनाउनु भयो । विश्व बेपत्ता दिवसको अवसरमा आइताबर रेडियो बिहानी ९७.६ मेगाहर्जले आयोजना गरेको परिसंवाद कार्यक्रममा सो कुरा बताउनु भएको हो । नेपालमा १० वर्षे जनयुद्धका क्रममा करिब ४ हजारको हाराहारीमा नागरिकहरु बेपत्ता भएको बेपत्ता छानबिन आयोगको तथ्याङ्क छ भने राष्ट्रिय मानवअधिकार आयोगले १ हजार १५ जना बेपत्ता नागरिक रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । सन १९८१ देखि ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिकाबाट सुरु भएको विश्व बेपत्ता दिवस अगष्ट ३० मा विश्वभर मनाइने चलन छ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा धादिङ जिल्लाबाट २४ जना बेपत्ता भएका छन् । तत्कालीन बिद्रोही नेकपा माओवादी र ७ राजनैतिक दलबीच भएको विस्तृत शान्ति सम्झौतापछि बेपत्ता छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन भएता पनि ती आयोगहरुले हालसम्म पूणर्ता प्राप्त गर्न सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस