१३ भाद्र २०७७ शनिबार
मुख्य सिजनमा रासायनिक मलको अभाव झेल्दै आएका धादिङका किसानले आज लामो समयपछि रासायनिक मल पाएका छन् । साल्ट ट्रेडिङ काठमाण्डौंबाट शनिबार ल्याएको ४२० बोरा रासायनिक (युरिया) मल १ बोरा बराबर ३ जनालाई बितरण गरिएको हो । नीलकण्ठ सहकारी मार्फत् वितरण गरिएको मल जिल्लाका विभिन्न सहकारीहरुले समेत वितरण गरिरहेका छन् । बिहिबार मात्र धादिङमा ४ वटा गाडीमा मल आएको थियो ।
त्यो मल विभिन्न सहकारीहरुले लिएर गएका नीलकण्ठ सहकारी संस्था लिमिटेडका व्यवस्थापक हरिप्रसाद रिजालले बताउनुभयो । उहाँका अनुसार धादिङ जिल्लामा अझै १२८० बोरा मल आवश्यकता रहेको छ । विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा समेत धेरथोर मल किसानहरुलाई वितरण गरिरहेको रिजालले बताउनुभयो । यस्तै कृषि सामाग्री कम्पनी शाखा कार्यालय गजुरी धादिङका प्रमुख विनोद शर्माले धादिङमा अझै १० दिनसम्म रासायनिक मल नआउने बताउनु भएको छ । धादिङका लागि १४० वटा सहकारीले धरौटी बुझाएर मलको माग गरेपनि केही समय अगाडि ५९ वटा सहकारीले मल लगेका थिए । बुधबार वीरगञ्जमा २५ सय टन रासायनिक मल आएको खबर सुनेका धादिङका किसान रासायनिक मल पाउने आशामा थिए । तर, शर्माले त्यो मल कृषि सामाग्री कम्पनीको नभएको बताएपछि किसानहरु निराश भए । कृषि सामाग्री कम्पनी शाखा कार्यालय गजुरी धादिङले सहकारी मार्फत रासायनिक मल वितरण गर्दै आएको छ । साल्ट ट्रेडिङले पनि धादिङमा मल पठाउने गरेको धादिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष बोदनाथ दुवाडीले बताउनुभयो । साल्ट ट्रेडिङको शाखा धादिङमा नहुँदा साल्ट ट्रेडिङ काठमाडौंको खातामा पैसा जम्मा गरेका सहकारीहरुलाई कृषि सामाग्री कम्पनी गजुरीले दिने रेट मै मल पठाउने गरेको उहाँले बताउनु भयो । नेपालमा आयात गरिने रासायनिक मलको ७० प्रतिशत कृषि सामग्री कम्पनीले र ३० प्रतिशत साल्ट ट्रेडिङ कर्पोरेसन आयात गर्ने प्रावधान रहेको छ । धादिङ जिल्ला कोरोना सङ्क्रमणको उच्च जोखिमा रहेको जिल्ला मध्ये एक हो । सरकारले २ सय भन्दा बढी कोरोना सङ्क्रमित भएको जिल्लालाई ‘रेड जोन’मा राखेको छ । त्यसमा धादिङ पनि परेको छ । हालसम्म धादिङमा २ सय २ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय धादिङले भदौ १६ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । तर शनिबार धादिङबेसी स्थित नीलकण्ठ सहकारी परिसरमा रासायानिक मल लिन किसानहरुको ठूलो भिड लागेको थियो । सामाजिक दुरी नै कायम नगरी सहकारीले मल वितरण गर्दा धादिङबेसी सदरमुकाममा झन जोखिम बढेको छ । तर किसानलाई कोरोना भन्दा पनि मल नपाईने चिन्ता छ । मलकै अभावले बर्खा भरी गरेको दुःख त्यत्तिकै खेर जाने अवस्था आएको भन्दै उनीहरूले रोगको भन्दा भोकको चिन्ता बढि भएको बताए । शान्ति सुरक्षामा खटिएका नेपाल प्रहरी, शसस्त्र र नेपाली सेनाले समेत सामाजिक दुरी कायम गरी मल वितरण गर्न सकेनन् ।
प्रतिक्रिया दिनुहोस