धादिङ १२ भाद्र
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ७ सुकौरामा प्रतीक्षालयको निर्माण गरिएको छ । स्थानीय व्यक्तिहरुको आर्थिक तथा श्रमदानबाट समाजसेवी विष्णुप्रसाद गौलीको आर्थिक लगानीमा करिब ३ लाख खर्चेर प्रतीक्षालय निर्माण गरिएको हो । विष्णुप्रसाद गौलीका स्वर्गीय पिता गङ्गादत्त गौली तथा माता दुर्गादेवी गौलीको सम्झनामा यात्रुहरुको लागि सहज रहोस भनी प्रतीक्षालयको निर्माण गरेको विष्णुप्रसाद गौलीले बताउनु भयो । प्रतीक्षालयको निर्माणपछि यात्रु, बाटो हिड्ने बटुवा तथा सर्वसाधरणहरु बस्न सहज भएको र दुर्घटना न्युनीकरणमा कमी आउने स्थानीयहरुको भनाइ छ । यसअघि पनि सुकौराका स्थानीयहरुको माग अनुसार समाजसेवी कृष्णबहादुर ढकालले रु. ५० हजार आर्थिक सहयोग गरी प्रतीक्षालय निर्माण भएको थियो । कोरोना भाइरस (कोभिड- १९) को सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले त्रिपुरासुन्दरी गाउँपालिकाका दुबै प्रतीक्षालयमा भिड गर्न अनुमति दिएको छैन ।
प्रतिक्रिया दिनुहोस