रसुवा ०७ भाद्र
रसुवाको कालिका गाउँपालिका वडा नं. ५ मा रहेको जिवजिवे ग्रामीण अस्पतालका एक स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टी भएको छ । यही भाद्र ४ गते अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरुको स्वाव सङ्कलन गरी पिसिआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा आइतबार १ स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ पुष्टी भएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आकस्मिक बाहेक सबै सेवा तत्कालका लागि बन्द गरिएको अस्पतालका प्रमुख अनिल आचार्यले बताउनु भयो । साथै कोरोना पोजेटिभ देखिएका स्वास्थ्यकर्मीलाई आइसोलेशनमा राखिएको तथा हाल कुनै पनि स्वास्थ्य समस्या नदेखिएको समेत आचार्यले बताउनु भयो । स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले कोरोना पोजेटिभ देखिएका स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्ति तथा उहाँले परीक्षण गरेका बिरामीहरुको समेत कन्ट्र्याक्ट ट्रेसिङको तयारी भैरहेको बताउदै कोरोना पोजेटिभ स्वास्थ्यकर्मीको सम्पर्कमा आएका सबै व्यक्तिहरुलाई होम क्वारेन्टाइनमा बस्नको लागि आग्रह समेत गर्नुभयो । कोरोना सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्तिहरुको परीक्षण रिपोर्ट नआउदासम्म समुदायस्तरमा फैलिएको वा नफैलिएको बारे एकिन गर्न सक्ने स्थिति नरहेकाले आम नागरिकहरुलाई ससङ्कित नभइ सजग र सुरक्षित रुपमा बस्नको लागि समेत प्रमुख श्रेष्ठले आग्रह गर्नुभयो ।
रसुमा हालसम्म १५ जना कोरोना सङ्क्रमित पुष्टी भएका छन् । जसमध्ये सबैभन्दा धेरै नौकुण्ड गाउँपालिकामा ९ जना, उत्तरगया गाउँपालिकामा ३ जना, कालिका गाउँपालिकामा २ जना र गोशाइकुण्ड गाउँपालिकामा १ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस