धादिङ ०७ भाद्र
धादिङ अस्पताल परिसरमा रहेको मातृशिशु स्वास्थ्य सेवा क्लिनिकमा दरबन्दीका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ । क्लिनिकमा दरबन्दीका कर्मचारीको अभाव र उचित व्यवस्थापन हुन नसक्दा बालबालिकाहरुलाई लगाईने विभिन्न प्रकारका खोप, गर्भवती महिलालाई दिइने सेवाहरु प्रभावित भएको हो । तत्कालीन जिल्ला स्वास्थ्य कार्यालय धादिङको मातहतमा कर्मचारी ब्यवस्थापन हुदै आएको उक्त मातृशिशु स्वास्थ्य सेवा क्लिनिक हाल संघीय ढाँचा अनुरुप कर्मचारीहरु समायोजन भएपछि क्लिनिकमा कर्मचारीको दरबन्दी नै कटौति भएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिनु भयो । स्वास्थ्य कार्यालय धादिङकी कर्मचारी मिश्रा सिलवालले व्यवस्थापन गर्दै आएको उक्त क्लिनिक समायोजनका कारण सिलवाल नीलकण्ठ नगरपालिका सरुवा भएपछि कर्मचारी बिहिन भएको डा. पौडेलको भनाइ छ । कर्मचारी कै अभावका कारण बालवालिकाको लागि लगाइने साप्ताहिक खोप कार्यक्रम र पूर्व प्रसुति, उत्तर प्रसुति लगाएत परिवार ब्यवस्थापन सम्वन्धी सम्पूणर् सेवा मङ्गलबार र शुक्रबार मात्र सञ्चालन हुदा अत्यन्तै समस्या परेको एक सेवाग्राहीले बताए । हप्ताको २ दिन मात्र क्लिनिक सञ्चालन गर्दा सेवाग्राहीको चाप बढ्ने र सहज ढङ्गले सेवा प्रवाहमा कठिनाइ उत्पन्न भएको छ । कर्मचारी समायोजनपछि स्थानीय तहमा दरबन्दी गएकाले नीलकण्ठ नगरपालिका र धादिङ अस्पतालबीच समन्वय भएर क्लिनिक सञ्चालन गर्नसके सेवाग्राहीहरुलाई सहज ढङ्गले सेवा प्रदान गर्न सकिने डा. पौडेल बताउनु हुन्छ । बालवालीकाहरुलाई विभिन्न रोगको प्रतिरक्षाका लागि दिईने खोप समेत समयमा लगाउन नपाएको गुनासो उनीहरुका अभिभावकहरुको रहेको छ ।
प्रतिक्रिया दिनुहोस