धादिङ ०७ भाद्र
कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको लागि जारी गरिएको लकडाउनको समयमा विभिन्न स्थानहरुमा अवैध कारोबार बृद्धी भैरहेको छ । लकडाउनको मौका छोपि लुकिछिपी अबैध लागुपदार्थ ओसार पसार गर्ने क्रम रोकिएको छैन । यसैबीच आइतबार चितवन प्रहरीले ५२ केजी गाँजा सहित ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ३ निवासी २४ वर्षीय ईन्द्र बहादुर तामाङ र २१ वर्षीय दोर्जे तामाङका साथै भरतपुर महानगरपालिका वडा नम्बर २४ का ६१ वर्षीय पदम बहादुर तामाङ रहेका छन् । इलाका प्रहरी कार्यालय चनौली चितवनबाट खटिएको प्रहरी टोलीले भरतपुरबाट चनौलीतर्फ जाँदै गरेको बा ३ ख ७९५८ नम्वरको ट्रकलाई चेकजाँच गर्नेक्रममा ५२ केजी गाँजा सहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनीहरुले ट्रकको पछाडि प्लाष्टिकको बोराभित्र लुकाई छिपाई राखेको अवस्थामा लागू औषध (गाँजा) ५२ किलो १ सय ग्राम बरामद गरिएको डिएसपी सूर्य थापाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस