धादिङ भाद्र ६
बाढी पहिरोको उच्च जोखिममा रहेको धादिङको उत्तरी क्षेत्रमा पर्ने रुविभ्याली र गङ्गाजमुना गाउँपालिकाका विभिन्न वस्तीहरुलाई स्थानान्तरण गर्नुपर्ने मागसहित स्थानीय समाजसेवी दिनेश तामाङको नेतृत्वमा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाललाई मागपत्र बुझाइएको छ । तामाङले शुक्रबार वागमती प्रदेश राजधानी हेटौडा पुगेर उत्तरी धादिङका रुवीभ्याली गाउँपालिका र गङ्गाजमुना गाउँपालिकामा पहिरोको कारण उच्च जोखिममा रहेका बस्तीहरु तत्काल स्थानान्तरण गर्नुपर्ने भन्दै निवेदन दर्ता गराउनु भएको हो । मागपत्र बुझ्दै मन्त्री फुयालले स्थानीय सरकारले स्थानान्तरणको लागि उचित जग्गाको व्यवस्था गर्न सके प्रदेशले घर बनाइदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै पहिरोबाट जोखिमयुक्त बस्तीहरु स्तान्तरण गर्ने विषयमा तत्काल प्रदेश मन्त्रीपरिषदको बैठक बसी थप निणर्य लिने समेत जानकारी दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलको अध्यक्षतामा बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले अविरल वर्षाका कारण उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकाको वडा नम्बर २ को आरनडाँडा, वडा नम्बर ४ को हिम्दुङ, वडा नम्बर ५ को कपुरगाउँ र नेवेर तथा वडा नम्बर ६ को तीर र गङ्गाजमुना गाउँपालिका वडा नम्बर १ किचेतका बस्तीहरुलाई स्थानान्तरण गर्न प्रदेशमा सिफारीस गर्ने निणर्य गरेको थियो । यसका साथै प्रमुख जिल्ला अधिकारी, सम्बन्धित पालिकाका प्रतिनिधि र सांसद सहितको टोलीले जोखिमयुक्त वस्तीहरुको स्थलगत अनुगमन समेत गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस