धादिङ ०२ भाद्र
गत श्रावण ३० गते नीलकण्ठ नगरपालिकाको अग्रसरतामा स्वाव सङ्कलन गरी पिसिआर परीक्षणका लागि पठाइएको ९५ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । नीलकण्ठ नगरपालिकाको आयोजनामा जिल्लाका विभिन्न स्थानका ९५ जनाको स्वाब सङ्कलन गरी पिसिआर परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँ पठाइएको थियो । स्वाव सङ्कलनका लागि पठाइएका सबैको रिपोर्ट नेगेटिभ आएको नीलकण्ठ नगरपालिका धादिङका स्वास्थ्य संयोजक विष्णु रिजालले बताउनु भयो । पिसिआर रिपोर्ट नेगेटिभ आएका ९५ जना नगरपालिका तथा पालिकाले निर्माण गरेको क्वारेन्टाइन तथा आइशोलेसनमा बसेकाहरु रहेका संयोजक रिजालले बताउनु भयो । रिजालका अनुसार पिसिआर रिपोर्ट नेगेटिभ आएका ९५ जनालाई घर पठाउने तयारी भैरहेको छ । यो समाचार तयार पार्दासम्म नीलकण्ठ नगरपालिकामा कोरोना संक्रमितको संख्या ७३ पुगेको छ भने जिल्लाभर सङ्क्रमितको सङ्ख्या १ सय ६३ रहेको छ ।
प्रतिक्रिया दिनुहोस