धादिङ ०१ भाद्र
जनयुद्धका महान् शहिद रिता श्रेष्ठ(रेजिना)को १८ औँ स्मृति दिवस सोमबार धादिङमा सम्पन्न भएको छ । धादिङको धुवाकोटमा बुबा कृष्ण प्रसाद र आमा तारा देवी श्रेष्ठको कोखबाट २०४० श्रावण १२ गते जन्मिएकी रेजिनाको २०५९ साल भाद्र १ गते तत्कालीन शाही नेपाली सेनाले रुवीभ्याली गाउँपालिकाको सेर्तुङमा गोली हानी हत्या गरेको थियो । विद्यार्थी कालदेखी नै अखिल क्रान्तिकारीमा आवद्ध रेजिना जनमोर्चा हुँदै माओवादीमा आवद्ध हुनुभएको थियो । सानैदेखी महिला विरुद्ध हुने भेदभावको विरोध गर्ने रेजिना २०५७ साल पौष ५ गते जनयुद्धमा पूणर्कालीन हुनुभएको हो । अखिल क्रान्तिकारीको इकाई कमिटी हुँदै सक्रिय बनेकी रेजिना विस्तारै सैन्य सङ्गठनमा आबद्ध हुदै स्क्वायर्ड सह कमाण्डर बन्नु भएको थियो । यसै क्रममा २०५८ सालदेखि लापाली जनसांस्कृतिक कलाकारमा आवद्ध रेजिना कलाकारको जिल्ला सदस्य हुनहुन्थ्यो ।
नुवाकोटको तारुका, धादिङ्गको दार्खा चौकी आक्रमणमा सहभागी रेजिना थुप्रै मसाल जुुलुस, फायर जुलुस सहभागी भइ एउटा निडर कुशल कलाकारका साथै राम्रो महिला नेतृत्वको रुपमा स्थापित नेतृ हुनुहुन्थ्यो ।
जनयुद्ध उत्कर्षमा पुग्दै गर्दा धादिङबाट जनदमनको लागि गएका तात्कालीन शाही सेनाले धादिङकै रुबीभ्याली गाउँपालिका अन्तरगत सेर्तुङ्गको वतासेमा संगठनको कार्य गर्दागर्दै घेरा हालेको थियो । शाही सेनाको घेरा तोड्ने प्रयत्न गर्दा खुट्टामा गोली हानी गिरफ्तार गरेर चरम यातना दिदै २०५९ साल भदौ १ गते गोली हानी हत्या गरेको हो । जनयुद्धकै क्रममा सहादत प्राप्त गर्ने महान् शहिदहरु बिमल घले, रिता श्रेष्ठ(रेजिना) र महिमाको सम्झनामा उहाँहरुकै नामबाट लापाली बिरिम जनसांस्कृतिक परिवार गठन भएको थियो ।
सोमबार धादिङबेसीमा एक कार्यक्रमका बीच रेजिनाको फोटोमा माल्यार्पण गर्दै उहाँले जनयुद्धको क्रममा गर्नुभएको बलिदानीको चर्चा सहित उहाँहरुले देखाएको बाटोमा निरन्तर लागि पर्ने प्रणका साथ स्मृति दिवस मनाइएको थियो । कार्यक्रममा नेकपा धादिङका जिल्ला कमिटी सदस्यहरु हरि अधिकारी(आशिष), विनोदबाबु रिमाल(सरोज) लगायतको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस