धादिङ ०१ भाद्र
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ स्थित धुँवाकोटका २४ जनाको पिसिआर परीक्षणको रिपोर्ट सोमबार नेगेटिभ आएको छ । श्रावण २८ गते धुँवाकोटका ३२ वर्षीय पुरुषको कोरोना भाइरसबाट काठमाडौँस्थित ह्याम्स अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । कोरोना भाइरसबाट मृत्यु भएका पुरुषको परिवार, आफन्तजन तथा उनका सम्पर्कमा आएका २४ जनाको श्रावण ३० गते स्वाब संकलन गरी पिसिआर परीक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौँ पठाइएकोमा सोमबार सबैको रिपोर्ट नेगेटिभ आएको नीलकण्ठ नगरपालिका धादिङका स्वास्थ्य संयोजक विष्णु रिजालले बताउनु भयो । पिसिआर रिपोर्ट नेगेटिभ आएका २४ जनालाई घर पठाउने तयारी भएको आइसोलेशनमा कार्यरत नर्स विद्या श्रेष्ठले जानकारी दिनु भयो । श्रेष्ठले पिसिआर रिपोर्ट नेगेटिभ आएका २४ जनालाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने सहमतिमा घर पठाउन लागिएको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस