धादिङ ३२ श्रावण
२०७२ साल वैशाख १२ को भूकम्पका कारण चिरा चिरा परेको अति जोखिमयुक्त उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका वडा नं. ४ को हिन्दुङ, चालिस, वडा नं. ५ कपुर गाउँ र नेवेर, वडा नं. ६ को तिर वस्ती अबिरल वर्षासँगै आएको बाढी पहिरोका कारण थप उच्च जोखिममा परेको छ । वडा नं. ४, ५ र ६ को करिब ५ सय घरधुरी अहिले अत्यन्तै डरमा बस्न बाध्य भएका छन् । भूकम्प गएपश्चात राष्ट्रिय पूर्न निर्माण प्राधिकरणले अति जोखिमयुक्त वस्ती भएकाले तत्काल वस्ती स्थानान्तरण गर्नुपर्ने भनेता पनि सरकारको उदासिनताका कारण अहिलेसम्म पनि त्यहाका स्थानीयहरु अति जोखिमयुक्त बस्तीमै बस्न बाध्य भएका छन् । दिउँसो त जसो तसो ज्यान जोगाउन सहज भए पनि बेलुका सुतेपछि बिहानसम्ममा मरिन्छ कि बाचिन्छ भन्ने डरैडरमा बस्नुपरेको कपुर गाउँका घन बहादुर तामाङले बताउनु भयो । यस्तै वडा नं. ५ का वडा सदस्य मन्जु तामाङले वडामा विपद व्यवस्थापनका लागि भनेर पालिकाले कुनै पनि बजेट विनियोजन नगरेकाले तत्कालका लागि आवश्यक पर्ने खाद्यान्न, त्रिपाल लगायतका सामग्रीहरु समेत व्यवस्थापन गर्न नसकेको गुनासो गर्नुभयो ।
भूकम्पपश्चात केही स्थानीयहरु सदरमुकाम वरपर बसाई सरेर आएता पनि आफ्नो खेतीपाती जग्गा जमिन त्यतै भएकाले अधिकांश स्थानीयहरु जोखिमयुक्त वस्तीमै बसोबास गरिरहेका छन् । स्थानीयहरुले पटक पटक जोखिमयुक्त बस्तीलाई उचित व्यवस्थापनको योजना सहित स्थानान्तरणको माग गरिरहेता पनि केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन खोज्दा सिन्धुपाल्चोकको लिदी घटना निम्तिन सक्ने समाजसेवी तथा कपुर गाउँका दिनेश तामाङ बताउनु हुन्छ । आफूले स्थानीय सरकार प्रमुख, प्रदेश सांसद, संघीय सांसदसँग पनि पटक पटक बस्ती स्थानान्तरणको लागि कुरा राखेपनि गम्भीर रुपले नलिएको तामाङको गुनासो छ ।
यता स्थानीय सरकारका प्रमुख चेरोङ तामाङले रुवीभ्याली गाउँपालिकाभित्र यस्ता धेरै जोखिमयुक्त बस्ती भएकाले बस्ती स्थानान्तरणको लागि स्थानीय सरकारले आर्थिक व्यवस्थापन गर्न नसक्ने बताउँछन् ।
भूकम्पका कारण क्षति भएका नीजि तथा सार्वजनिक संरचनाहरुको पूर्न निर्माणका लागि गठन भएको राष्ट्रिय पुर्न निर्माण प्राधिकरणले यस्ता जोखिमयुक्त बस्ती स्थानान्तरणमा चासो नदेखाउदा र स्थानीय सरकारले आवश्यक पहल लिन नसक्दा भोलि ठुलै बिपतको सामाना गर्नपर्ने र ठुलो मात्रामा मानवीय तथा भौतिक क्षति बेहोर्नुको बिकल्प छैन ।
राज्यले उक्त जोखिमयुक्त बस्तीलाई तत्कालै सुरक्षित रुपमा दीर्घकालीन योजनासहित जीविकोपार्जका कार्यक्रमका साथ स्थानान्तरण गर्न सके कष्ठकर जीवन बिताइरहेका करिब ५ सय परिवार स्थानीयहरुले नयाँ जीवन प्राप्त गर्ने छन् ।
भिडियोको लाग यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया दिनुहोस