धादिङ २९ श्रावण
कोरोना भाइरस(कोभिड १९) सङ्क्रमणका कारण नीलकण्ठ १४ धुवाकोटका तुल बहादुर गुरुङको निधन भएसँगै धुवाकोट शोकमा डुबेको छ । बुधबार काठमाडौँको ह्याम्स अस्पतालमा निधन भएका गुरुङको निधनमा शोक व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी(नेकपा) धुवाकोटले पनि गुरुङको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
३२ वर्षीय गुरुङ पेशाले चालक भएता पनि गाउँका एक समाजसेवीका रुपमा चिनिएका थिए । कसैको दुःख देख्न नसक्ने गुरुङ आफूले सकेको सबैलाई सहयोग गर्दथे र गाउँका विभिन्न सामाजिक कामहरुमा अग्र पङ्तिमा उभिन्थे । केही दिन अगाडि धुवाकोट कै टार भन्ने ठाउँमा बिग्रेको बाटो मर्मत कार्यमा सक्रिय गुरुङमा काम गर्दागर्दै सामान्य ज्वरो आएपछि स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि गएको र त्यहाबाट धादिङ अस्पताल उनी आफै मोटरसाइकल चलाएर गएका थिए । धादिङ अस्पतालले स्वासप्रस्वास मा समस्या उत्पन्न भएकोले फोक्सोमा केही समस्या भएको भन्दै काठमाडौं रिफर गरिदिएको थियो । २६ गते ह्याम्स अस्पताल भर्ना भएका उनको भोलिपल्टै अस्पतालले मृत घोषणा गरेको थियो । भर्ना पश्चात् उनको कोरोना परीक्षणका लागि स्वाव सङ्कलन गरिएको थियो तर रिपोर्ट आउदासम्म उनको मृत्यु भैसकेको थियो । उनको मृत्युपश्चात कोरोना पोजेटिभ भएको रिर्पोट आएको थियो ।
वाल्यकालमै परिवारको अभिभावक बाबु गुमाएका गुरुङले आर्थिक अभावका कारण उचित शिक्षा लिन पाएका थिएनन् । सानैमा धादिङबेसिको पाजु खाजाघरमा काम शुरु गरी आफ्नो रोजगारी शुरुआत गरेका गुरुङले मालपोत कार्यालयमा क्यान्टिन समेत सञ्चालन गरेका थिए । गुरुङले होटल व्यवसायसँगै आफ्नै लगानीमा १ वर्ष अघिबाट धुवाकोट काठमाडौं चल्ने मण्डली यातायात प्रालि को बस सेवा संचालन गरिरहेका थिए ।
प्रतिक्रिया दिनुहोस