धादिङ १५ श्रावण
आर्थिक वर्ष २०७६/०७७ मा धादिङ अस्पतालमा कुल ४४ हजार १ सय ४४ जना सेवाग्राहीले सेवा लिएका छन् । बिहिबार वार्षिक समीक्षा तथा पत्रकार भेटघाट कार्यक्रम गर्दै धादिङ अस्पतालले सो कुराको जानकारी दिएको हो । जसमध्ये ओपिडिमा २९ हजार ६ सय १४, डेन्टलमा १ हजार ७ सय १८, आकस्मिकमा १० हजार ४ सय ६९ लगायत गरी कुल ४४ हजार १ सय ४४ जनालाई धादिङ अस्पतालले सेवा प्रदान गरेको हो । यस्तै आर्थिक वर्ष २०७६/०७७ मा ७ सय ७१ जनाले धादिङ अस्पतालमा सफल सुत्केरी गराएका छन् । अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलाको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट त्रिभूवन चन्द झा, स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेल, नागरिक समाजका अगुवा तथा पत्रकारहरुको उपस्थिति रहेको थियो । अस्पतालका सूचना अधिकारी विक्रम विकले सहजीकरण गर्नुभएको कार्यक्रममा अस्पतालले फोहोर व्यवस्थापन केन्द्रलाई व्यवस्थित बनाएको, शिशु स्याहार केन्द्र, अत्याधुनिक रेडियोलोजि सेवा, भिडियो एक्स्रे सेवा लगायतका महत्त्वपूर्ण सेवाहरुलाई चुस्त रुपमा व्यवस्थापन गरेको, विभिन्न समयमा अभिमूखीकरण कार्यक्रम सञ्चालन गरिएको, सूचना प्रणालीलाई व्यवस्थित गरिएको, कोरोना रोकथाम र नियन्त्रणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको जानकारी गराइएको थियो । यस्तै आगामी दिनहरुमा भेन्टिलेटर सहितको सघन उपचार कक्षको स्थापना, अक्सिजन प्लान्टको निर्माण लगायतका महत्त्वपूर्ण कार्यहरु गर्ने कार्यक्रममा जानकारी गराइएको थियो ।
प्रतिक्रिया दिनुहोस