गोरखा श्रावण १५
राष्ट्रिय विभूति अमरसिंह थापाको स्मृति दिवस पारेर सिरानचोक गाउँपालिका गोरखाले श्रावण १६ गते सार्वजनिक विदा दिने भएको छ । सिरानचोक गाउँपालिका वडा नं. ६ मा जन्मिएका अमरसिंह थापा पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्ने समयका सेनापति थिए । राष्ट्रिय विभूति थापाको २ सय ४ औँ स्मृति दिवसका दिन पालिकाको सबै कार्यालाय तथा संघ संस्थाहरुमा सार्वजनिक बिदा गरिएको सिरानचोक गाउँपालिकाका अध्यक्ष राजु गुरुङले बताउनु भयो ।
सिरानचोक गाउँपालिका वडा नं. ६ डाँडेमा जन्मिएका थापाको मृत्यु वि.सं. १८३८ को जनै पूर्णिमाका दिन रसुवाको गोसाइकुण्डमा भएको इतिहासमा उल्लेख छ । उक्त वर्षको जनै पुर्णिमा श्रावण १६ गते रहेको क्यालेन्डरमा हेर्दा पत्ता लागेकाले हरेक वर्षको श्रावण १६ गते सार्वजनिक बिदा गरी राष्ट्रिय विभूति अमरसिंह थापाको स्मृति दिवस मनाउन लागिएको अध्यक्ष गुरुङले बताउनु भयो ।
उक्त दिन थापाको जन्मस्थल डाँडेमा झण्डोत्तोलन कार्यक्रमको आयोजना गरिएको छ । थापा जन्म स्थानमा ४ रोपनी जग्गामा अमरसिंह र्पाक निर्माण कार्य सुरु गरी उक्त स्थानलाई ऐतिहासिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागिएको अध्यक्ष गुरुङले बताउनु भयो । सोही दिन डडेलधुरा जिल्लाको अमरगढी नगरपालिकाले पनि सार्बजनिक विदाको घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस