धादिङ १४ श्रावण
सरकारले लकडाउन अन्त्य गरेर छोटा दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेसँगै धादिङका सार्वजनिक यातायातका साधनले मनलाग्दी भाडा असुल्दै आएका छन् । सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच साबिकभन्दा ५० प्रतिशत भाडा बढी लिन पाउने र ५० प्रतिशत मात्र यात्रु राख्न पाउने सहमति अनुसार चलेका धादिङका सार्वजनिक यातायातले करिब १ सय ५० प्रतिशत सम्म बढी भाडा असुलेको यात्रुहरुको गुनासो छ । धादिङबेसीबाट धुनिबेसी नगरपालिकाको खत्रीपौवासम्मको भाडादर धादिङका यातायात व्यवसायीहरुले मनलाग्दी रुपले उठाएका छन् ।
धादिङमा ग्रामीण यातायात सहकारी संस्था, गा्रमीण यातायात प्रालि, धादिङ मण्डली यातायात व्यवसायी संघ र संयुक्त माइक्रोबस व्यवसायी संघले सार्वजनिक यातायात सञ्चालन गर्दै आएका छन् । सबैभन्दा बढी भाडा असुल्नेमा धादिङका डिलक्स बसहरु रहेका छन् । धादिङ काठमाडौँका लागि साविक रु. २ सय ५० भाडा लिदै आएका डिलक्स बसहरुले दोब्बर रु. ५ सय भाडा असुलेको पाइएको छ ।
यस्तै साविक रु. २ सय २० भाडा लिने गरेका माइक्रो बसहरुले रु. ४ सय असुल्ने गरेका छन् । यस्तै साविक रु. १ सय ८५ भाडा लिने गरेका धादिङ मण्डली ग्रामीण यातायात सहकारी र ग्रामीण यातायात प्रालिद्धारा सञ्चालित मिनिबसहरुले रु. ३ सय भाडा असुलेका छन् ।
जिल्लाभित्र मात्रै सार्वजनिक यातायत सञ्चालन गर्ने सरकारको नियमले धादिङबाट काठमाडौँ जाने यात्रुहरु खत्रीपौवाबाट करिब १ घण्टा हिडेर थानकोटसम्मको यात्रा गर्न बाध्य भएका छन् । सवारी साधनमा यात्रा गर्न नदिने तर हिडेर काठमाडौँ प्रवेश गर्न दिने सरकारको यो निर्णयका कारण कोरोना सङ्क्रमणको जोखिम झन उच्च देखिएको यात्रुहरु बताउछन् ।
प्रतिक्रिया दिनुहोस