धादिङ १२ श्रावण
५४ औँ रक्तसञ्चार सेवा दिवसको अवसर पारी सोमबार धादिङबेसीमा बृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोसाइटी नीलकण्ठ उपशाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र धादिङको प्राबिधिक सहयोग रहेको उक्त उक्त रक्तदान कार्यक्रममा २२ जना महिला सहित ६२ जना पुरुषसहित ८४ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए । ५४ बर्ष अघि अर्थात् २०२३ साल साउन १२ गते नेपालमा रक्तसञ्चार सेवा स्थापना भएको थियो । अहिले नेपालको ७३ जिल्लाका ११६ स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा एकाइहरूमार्फत् रेडक्रसले सेवा सञ्चालन गरिरहेको छ । काठमाडौंको केन्द्रीय रक्तसञ्चार सेवाको लगायत विराटनगर, पोखरा, नेपालगंज र चितवन गरी ४ वटा क्षेत्रीय रक्त सञ्चार सेवा २२ वटा जिल्लास्तरीय इकाई, ४७ जिल्लाका आकस्मिक रक्त सञ्चार सेवा र ३८ वटा अस्पतालका रक्त सञ्चार सेवा एकाइबाट अहिले रक्त सञ्चार सेवा सञ्चालनमा छ ।
आर्थिक बर्ष २०७६/०७७ मा दुई लाख ३८ हजार आठ सय ३६ यूनिट रगत संकलन भई तीन लाख २१ हजार सात सय ७६ यूनिट रगत तथा रक्ततत्व विरामीलाई उपलब्ध गराईएको छ । नेपाल रेडक्रस रक्त सञ्चार सेवा केन्द्र स्थापनाको ५४ औँ बर्ष पूरा भएको अवसरमा आज प्रकाशित प्रतिवेदनमार्फत् यो जानकारी दिईएको हो । देशभरीमा विभिन्न संघ–संस्थाहरूबाट ३,४७८ वटा घुम्ती रक्त संकलन गरिएको छ भने केन्द्रीय रक्त सञ्चार सेवाबाट मात्रै ३९ हजार ७ सय ५५ यूनिट रगत संकलन गरिएको छ । गत आ.व. २०७५/०७६ मा नेपालभर जम्मा २,७१,९२२ यूनिट रगत संकलन भएकोमा यस बर्ष कोभिडको कारणले केही प्रतिशत रक्तदाता घटे पनि महिला रक्तदाताको सङ्ख्या बढेको छ । गतवर्ष कूल रक्तदाता महिलाको संख्या १६.१ प्रतिशत रहेकोमा यसपटक १७.५ प्रतिशत पुगेको छ ।
प्रतिक्रिया दिनुहोस