धादिङ ११ श्रावण
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले बाढी पहिरोका कारण समस्यामा परेका नागरिकहरुलाई राहत सहयोग गरेको छ । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकाबाट सुरु गरेको राहत सामग्री सहयोग कार्यक्रम नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका र गजुरी गाउँपालिकामा समेत वितरण गरिसकेको छ । आइतबार गजुरी गाउँपालिका वडा नं. ४ र ५ का पहिरोका कारण घर भत्केर समस्यामा परेका ८६ परिवारलाई राहत सहयोग गरेको हो । राहत सहयोग कार्यक्रममा सभापति नारायण तिमल्सिना, मन्त्री दुर्लभ कुमार तामाङ, कोषाध्यक्ष कृष्ण लम्साल, उपमन्त्री नारायण कुमार श्रेष्ठ, उपशाखा सभापति, पदाधिकारी, सम्बन्धित वडा अध्यक्ष लगायतको उपस्थिति रहेको थियो । पहिरोका कारण समस्यामा परेका परिवारलाई पकाउने भाडाकुडाँ, लत्ताकपडा, त्रिपाल लगायतको सामग्री सहयोग गरिएको हो । जिल्लाको ४ वटा स्थानीय तहमा हालसम्म ३ सय ५० भन्दा बढी परिवारलाई राहत सहयोग गरिसकिएको सभापति नारायण तिमल्सिनाले बताउनु भयो । जिल्लाका अरु स्थानीय तहमा पनि विपदका घटनाहरु भैराखेकाले निरन्तर रुपमा राहत वितरण कार्यलाई अगाडि बढाउने समेत सभापति तिमल्सिनाको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस