धादिङ ०७ श्रावण
अपिल कोइराला
सुनौला भैरवी माध्यमिक विद्यालय नीलकण्ठ ७ लाई नेपाल युथ फाउन्डेशनले ल्यापटप, टेलिभिजन, शैक्षिक सामग्री र मास्क सेनिटाइजर सहयोग गरेको छ । कोरोना भाइरस(कोभिड १९) का कारण अबरुद्ध भएको शैक्षिक कृयाकलापलाई सुचारु गर्नका लागि बुधबार एक कार्यक्रमका बिच लागि ४ सेट ल्यापटप, ४३ इन्चको ४ सेट स्मार्ट टेलिभिजन, ८० सेट एजुकेशन किट र आवश्यकता अनुसारका मास्क सेनिटाइजर र ग्लोब्स सहयोग हस्तान्तरण गरेको हो । उज्यालो बहूउद्देश्यीय सहकारी भवन सिकाइ केन्द्रका संयोजक तथा शिक्षक अभिभावक संघका अध्यक्ष विदुर कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण बस्यालको प्रमुख आतिथ्यता, विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं पूर्व सांसद रामनाथ अधिकारीको विशेष आतिथ्यता तथा नीलकण्ठ नगरपालिकाका सामाजिक विकास समिति संयोजक कल्पना रेग्मी, नीलकण्ठ नगरपालिकाका स्रोत व्यक्ति मेगनाथ कोइराला, नेपाल शिक्षक संघ धादिङका अध्यक्ष विष्णु प्रसाद अधिकारी, नेपाल युथ फाउन्डेशन शिक्षा संयोजक उमेश रेग्मी, नेपाल युथ फाउन्डेशन शिक्षा सदस्य राम बाबु राई, प्रधानाध्यापक पुरुषोतम दाहाल लगायतको उपस्थिति रहेको थियो । नेपाल युथ फाउन्डेसनका शिक्षा समिति संयोजक उमेश रेग्मीले विद्यालयलाई सो सामग्री हस्तान्तरण गरेका हुन् । विद्यालयले आफ्नो सेवाक्षेत्रभित्र ४ वटा सिकाइ केन्द्र तोकेर बैकल्पिक सिकाइ सञ्चालन गर्न सुरु गरेको छ । जसमा उज्यालो बहूउद्देश्यीय सहकारी भवन सिकाइ केन्द्र, वडा नं. ४ पिप्ले सिकाइ केन्द्र, नीलकण्ठ ८ ससाह सिकाइ केन्द्र र विद्यालय भवनमा विद्यार्थीहरुलाई भौतिक दूरी कायम गरी शिक्षण सञ्चालन गरिने छ । कार्यक्रममा बोल्दै नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण बस्यालले विशेषगरी सुरुवाती कक्षादेखि नै विद्यार्थीहरुलाई प्रविधिमार्फत शिक्षण सिकाइमा सहभागी गराउनुपर्ने बताउनु भयो । साथै आगामी दिनमा नगरभित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न नेपाल युथ फाउन्डेशनसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यस्तै विशेष अतिथि रामनाथ अधिकारीले लकडाउनको समयमा विद्यार्थीहरुलाई सहज तरिकाले शिक्षण सिकाई कृयाकलापमा सहभागी गराउन नसक्दा यो प्रबधि विशेष उपयोगी हुने भन्दै सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस