धादिङ ०७ श्रावण
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, जनयुद्धका शहिद कृष्ण वाग्ले(रामजी), किशोर बस्नेत(हिमाल) र सावित्री घिमिरे(सामना) को स्मृति दिवस धादिङवेसीमा मनाइएको छ । जनक्रान्तिका शहिद तथा बेपत्ता परिवार समाज धादिङको आयोजनामा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ३९ औँ स्मृति दिवस र कृष्ण वाग्ले(रामजी), किशोर बस्नेत(हिमाल) र सावित्री घिमिरे(सामना) को १६ औँ स्मृति दिवस मनाइएको हो । जनक्रान्तिका शहिद तथा बेपत्ता परिवार समाज धादिङका अध्यक्ष राम बहादुर भण्डारीको अध्यक्षतामा भएको स्मृति दिवस कार्यक्रममा नेकपा धादिङका नेता तथा नीलकण्ठ नगरपालिकाका उपमेयर मनराज भण्डारीको प्रमुख आतिथ्यता रहको थियो ।
तात्कालीन नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्धको क्रममा धादिङको केवलपुरमा जन्मिएका कृष्ण वाग्ले(रामजी), भुमेस्थानका किशोर बस्नेत(हिमाल) र नुवाकोट सुयूगढी ५ की साबित्री घिमिरे (सामना) ले ०६२ साउन ७ गते सहादत प्राप्त गरेका थिए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालले नेपाली कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानका साथै जनयुद्धका शहिदहरु रामजी, हिमाल र सामनाले जनयुद्धलाई उचाइमा पुर्याउनको लागि गरेको योगदानको चर्चा गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस