धादिङ, श्रावण ०५
केही दिनदेखि परिरहेको अबिरल वर्षाका कारण धादिङका विभिन्न स्थानमा पहिरो गएका छन् भने दर्जनौ घरहरु पुरिएको छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ स्थित मलेखु बजारस्थित पुलछेउमा पहिरो जाँदा ६ घर पुरिएको छ । पहिरोमा परी १७ वर्षीया किशोरी निरुता परियार बेपत्ता भएकी छन् भने वर्ष २८ का दिपेन चौधरी घाइते भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । वर्षाका कारण गएराती १ बजेको समयमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिनु भयो । खड्काले निरन्तर वर्षाका कारण पहिरो नरोकिएकाले उद्धार कार्यमा कठिनाई भएको बताउनु भयो । पहिरोले गर्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
यस्तै पहिरोका कारण धादिङको गजुरी गाउँपालिकालाई समेत क्षति पुर्याएको छ । सोमबार बिहानदेखि परेको अविरल वर्षाका कारण गाउँपालिका परिसर नजिकै पहिरो जाँदा गाउँपालिका कार्यालयमा समेत असर पुर्याएको छ । गाउँपालिका परिसरबाट बगेको लेदो माटो गाउँपालिका अगाडिको सडक हुँदै गलौदी पुलसम्म पुग्दा सडक अवरुद्ध भएको हो ।
उता पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १० स्थित जवाङ खोलाले ३ वटा गाडी बगाएको छ भने ४ वटा गाडी पुरेको हो । पृथ्वी राजमार्गमा रोकिराखेको एक मिनिट्रक र दुइवटा जीप बगाएको र २ वटा, ट्रक, एउटा जीप र एउटा कार माथिबाट खसेको लेदोले पुरेको प्रहरीले जानकारी दिएको छ । यस्तै वेनिघाट रोराङ १० मा पर्ने पृथ्वी राजमार्गस्थित मौवाखोलामा रहेको धादिङ र चितवन जोड्ने पक्की पुलसमेत खोलामा आएको बाढीले भत्काएको छ । यस्तै बाढीले अमृत बहादुर गुरुङको सहित ३ वटा घर बगाएको छ ।
उता बेनिघाट रोराङ ८ धुषामा स्थानीय निशा चेपाङको घर पहिरोले पुरिदा ५ वर्षकी छोरी सङ्गीता चेपाङ घाइते भएकी छन् । बाढी कै कारण बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० मा मौवा खोलाले ३ वटा घर बगाएको छ ।
यस्तै धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ स्थित महेश खोलाले बगाउँदा महादेवबेशीकी एक महिला बेपत्ता भएकी छिन् । अविरल वर्षाका कारण सोमबार बिहानैदेखि महेश खोलामा आएको बाढीले महादेवबेसीकी ६० बर्षकी बृद्ध महिलालाई खोलाले बगाएको हो ।
प्रतिक्रिया दिनुहोस