गोरखा ०१ श्रावण
गोरखाको सिरानचोक गाउँपालिकाको छैटौँ गाउँ सभाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । बुधबार भएको गाउँ सभाले अध्यक्ष राजु गुरुङद्धारा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र उपाध्यक्ष रिता देवकोटाद्धारा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को बजेट पारित गरेको हो । सम्बृद्ध सिरानचोकको आधार, कृषि पर्यटन र पूर्वाधार भन्ने दीर्घकालीन सोचका साथ अगाडि बढेको सिरानचोक गाउँपालिकाकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा कोभिड १९ बाट सिर्जित सङ्कट व्यवस्थापन, कृषि तथा पशु सेवामा आधुनिकीकरण, पूर्वाधार विकास, शिक्षामा गुणात्मक सुधार, सूचना प्रविधि तथा सञ्चारमा विकास, सबैको लागि खानेपानीको व्यवस्था लगायतका प्राथमिकताका क्षेत्र निर्धारण गरेको छ । यस्तै गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि कुल ६४ करोड ११ लाख ४३ हजार ४ सय ४० बजेट विनियोजन गरेको छ । जसमा आर्थिक विकासतर्फ ४ करोड ५० लाख, सामाजिक विकासतर्फ ५ करोड, भौतिक पूर्वाधार विकासतर्फ ८ करोड ९१ लख ३५ हजार ९ सय ४८, वातावरण तथा विपद व्यवस्थापनतर्फ ६६ लाख ११ हजार ६ सय २१, संस्थागत विकास र सुशासनतर्फ २ करोड ४२ लाख ६२ हजार ७ सय ६९, चालु खर्चतर्फ ८ करोड, समपुरक कोषतर्फ ५ करोड ७५ लाख र वर्गीकृत नभएका तथा वडागत योजनाका लागि २८ करोड ४६ लाख ३३ हजार १ सय २ रुपैया बजेट विनियोजन गरिएको हो ।
गाउँपालिका अध्यक्ष राजु गुरुङद्धारा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा अमरसिंह थापाको जन्मस्थान सिरानचोक गाउँपालिकामै रहेकाले प्रत्यक वर्षको श्रावण १६ गते अमरसिंह थापाको स्मृतिमा सार्वजनिक विदा दिने समेत घोषणा गरिएको छ । यस्तै नीति तथा कार्यक्रममा दिगो अर्थतन्त्रको विकासका लागि एक घर एक बगैचाको अवधारणा, दक्ष तथा अदक्ष युवा लक्षित कृषि प्याकेज तयार गरी भूमि बैंकको स्थापना गर्ने, वडामा कृषि पकेट प्रबद्र्धन कार्यक्रम घोषणा गर्ने, कृषि उत्पादन सङ्कलन केन्द्र स्थापना गर्ने , वडा नं. ४ चोरकाटेमा ४५ रोपनी जग्गामा औद्योगिक ग्राम निर्माणलाई प्राथमिकता दिने लगायतका लोकप्रिय कार्यक्रमहरु प्रस्तुत गरिएका छन्
प्रतिक्रिया दिनुहोस