गोरखा ०१ श्रावण
स्थानीय निर्वाचन भएको करिब अढाइ वर्षसम्म निर्धारण हुन नसकेको सिरानचोक गाउपालिकाको केन्द्र चित्रेपोखरी कायम भएको छ । बुधबार बसेको गाउँसभा तथा अधिवेशनले गाउँपालिकाको केन्द्र वडा नं. ५ मा पर्ने चित्रेपोखरी कायम गरेको हो । गत आषाढ २४ गते बसेको २१ औँ गाउँसभाले हाल रहेको छोप्राक मैदानबाट चित्रेपोखरी सार्न प्रस्ताव गरेको थियो । १६ सदस्यीय कार्यपालिका रहेको उक्त गाउँपालिकाका १३ जना कार्यपालिका सदस्यले चित्रेपोखरीमा गाउँपालिकाको केन्द्र निर्धारण गर्न प्रस्ताव गरेका थिए । बुधबार भएको मतदानमा कुल ४२ मतमध्ये ३७ मत चित्रेपोखरी पालिकाको केन्द्र कायम गर्नुपर्नेमा खसेको थियो भने ५ मत विपक्षमा खसेको थियो । गाउँपालिकाको केन्द्र चित्रेपोखरीमा कायम भएपछि त्यहाँका राजनैतिक दल तथा स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराउने समेत प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस