धादिङ ३० आषाढ
त्रिशुली नदीमा बालुवा झिक्ने क्रममा असार २४ गते दिउँसो बेपत्ता भएका गल्छी गाउँपालिका वडा नम्बर २ का ताराबहादुर लुंगेली मगरको परिवारलाई क्षतिपुर्ति दिनु पर्ने माग राख्दै आफन्तजनहरुले आइतबार प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई माग पत्र पेश गरेका छन् । मगर गत असार २४ गते गल्छी गाउँपालिका वडा नम्बर ४ बेल्खु स्थित डिलबहादुर भण्डारीको घर पछाडि त्रिशुली नदीमा बालुवा झिक्ने क्रममा नदीले बगाएर बेपत्ता भएका थिए । डिल बहादुर भण्डारीले आफ्नो घर पछाडि त्रिशुली नदीमा बालुवा झिक्न मगर लगायतका मजदुरहरुलाई बोलाएका थिए । बाढी आएको समयमा नदीबाट बालुवा झिकेर बेचविखन गर्दा धेरै नै नाफा हुन्छ भन्ने लोभ लालच देखाइ भण्डारीले मजदुरहरुका लागि कुनै सुरक्षाको उपाय अबलम्बन नगरी काममा लगाएका थिए । मङ्गलबार बेपत्ता मगरका आफन्तहरुले बेपत्ता भएका तारा बहादुर मगरको परिवारलाई काममा लगाउने भण्डारी, स्थानीय सरकार, ठेकेदारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् । साथै जोखिमपूणर् मजदुरी गर्ने मजदुरहरुको बिमा गर्नुपर्ने र काम गर्दा आवश्यक सुरक्षाको सामग्रीहरुको व्यवस्थापन गर्न समेत माग गरेका छन् । मगरका आफन्तहरुले मङ्गलबार नै संघीय सांसद भूमि त्रिपाठी, प्रदेश सांसद राजेन्द्र पाण्डे, जिल्ला समन्वय समिति, धादिङ, जिल्ला प्रहरी कार्यालय, धादिङ र गल्छी गाउँपालिकामा समेत मागपत्र पेश गरेका छन् ।
प्रतिक्रिया दिनुहोस