धादिङ २९ आषाढ
आदिकवि भानुभक्त आचार्यको २०७ औं जन्मजयन्ती धादिङमा पनि मनाइएको छ । सोमबार भानुपार्क नीलकण्ठ ३ धादिङबेसीमा वृक्षरोपण सहित भानुभक्तको सालिकमा माल्यार्पण गरी आदिकवि भानुभक्त आचार्यको स्मरण गरिएको हो । भानुजयन्तीको अवसरमा धादिङ सोसियल भोलेन्टियर नेपालको अग्रसरतामा वृक्षरोपण गरिएको हो । साहित्यकार डा. नवीनबन्धु पहाडी, मुरारी अधिकारी लगायतले भानुभक्तले नेपाली साहित्य र नेपाली भाषाको उन्नययनमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा धादिङ सोसियल भोलेन्टियर नेपालका अध्यक्ष नारायण कुमार श्रेष्ठ, प्राध्यापक दिपेन्द्र रिजाल, पत्रकार राजेन्द्र प्रताप शाह लगायतको सहभागिता रहेको थियो ।
भानुपार्कको उचित संरक्षण गरेर एउटा पुस्तकालय, बाल उद्यान र बगैचा सहितको पार्क निर्माण गर्ने योजना रहेता पनि स्थानीय तह र सम्बन्धित सरोकारवालाहरुले चासो नदेखाएको संरक्षक एवं साहित्यकार पहाडीले बताउनु भयो ।
वि.सं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको जीवन एक घासीको अर्ति उपदेशका कारण परिवर्तन गराएको भनाइ छ । उनले संस्कृत भाषामा लेखिएको रामायणलाई नेपालीमा उल्था गरेर सरल सहज बनाएका थिए । भानुभक्तका ‘वधुशिक्षा’, ‘प्रश्नोत्तरी’, ‘भक्तमाला’, ‘रामगीता’लगायत कृति चर्चित रहेका छन् ।
फोटो फिचर
प्रतिक्रिया दिनुहोस