धादिङ २९ आषाढ
धादिङबेसी बजार क्षेत्रभित्र रहेका संस्थागत विद्यालयहरुले यही श्रावण १५ गतेबाट विद्यालयको पठन पाठन सुरु गर्ने निर्णय गरेका छन् । सोमबार धादिङबेसीमा रहेका संस्थागत विद्यालयहरुका सञ्चालकहरुको भेलाले सो निर्णय गरेको हो । भेलाले विद्यार्थीहरुको पठन पाठनलाई मध्यनजर गर्दै अभिभावकहरुलाई समन्वय गरी सम्पूर्ण सुरक्षा व्यवस्था अपनाएर तहगत रुपमा श्रावण १५ गतेबाट पठन पाठन सुचारु गर्न पहल गर्ने निर्णय गरेको हो । यस्तै भेलाले हाल सञ्चालन भइरहेका अनलाइन कक्षाहरुलाई थप व्यवस्थित बनाउदै परिस्कृत तथा विस्तार गर्ने निर्णय पनि गरेको छ । संस्थागत विद्यालयहरु प्याब्सन र एन प्याब्सन कोअर्डिनेसन कमिटिका संयोजक विनोदमान श्रेष्ठ र सचिव रामहरि अधिकारीद्धारा भेलाको निर्णयहरु सार्वजनिक गर्न जारी गरिएको विज्ञप्तिमा धादिङबेसीभित्रका सम्पूर्ण संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको शैक्षिक सत्र २०७६ सालको तलब भुक्तानी गरेको पनि जानकारी गराइएको छ ।
कोरोना भाइरस(कोभिड १९)लाई रोकथाम र नियन्त्रण गर्न २०७६ साल चैत्र ११ गतेबाट सरकारले लकडाउन घोषणा गरेपछि देशभरका संस्थागत तथा सामुदायिक विद्यालयहरु बन्द रहेका कारण लाखौ विद्यार्थीहरुको पठनपाठन अबरुद्ध भएको छ ।
प्रतिक्रिया दिनुहोस