धादिङ २८ आषाढ
कोरोना भाइरस(कोभिड १९) रोकथाम र नियन्त्रणका लागि २०७६ चैत्र ११ गतेदेखि सरकारले लकडाउन गरेपछि देशभरका विद्यालयहरु बन्द रहेका छन् । सामुदायिक विद्यालयका शिक्षकहरुको तलब सरकारले कटौति गरेको छैन तर संस्थागत विद्यालयका शिक्षकहरुले भने चैत्रदेखि नै तलब भत्ता नपाएको भन्दै आन्दोलित भएका छन् । आइतबार धादिङबेसीमा जिल्लाका विभिन्न संस्थागत विद्यालयका शिक्षकहरु विद्यालयले तलब नदिएको कारण दैनिकी चलाउन नै मुस्किल परेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । हातमा प्लेकार्ड बोकेर करिब ४० जना शिक्षकहरु आन्दोलनमा उत्रिएका थिए । आन्दोलनमा उत्रिएका एडभान्स एकेडेमीका शिक्षक राम कुमार श्रेष्ठले भने “कतिपय विद्यालयले चैत्र महिनाको समेत तलब दिएको छैन कतिपयले बैशाखदेखि पाएका छैनन् । यसो हुँदा शिक्षण पेशालाई मात्र आधार मानेर जीवन गुजारा गर्ने संस्थागत विद्यालयका शिक्षकहरुको दैनिकी अत्यन्तै कष्ठकर भएकाले यसको उचित सम्बोधन कि त आवद्ध विद्यालयले गर्नुप¥यो कि त सरकारले गनुप¥यो । नत्र हामी थप आन्दोलनका कार्यक्रममा जान बाध्य हुनेछौँ ।”
शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका शिक्षकहरुले विद्यालय संचालक हाम्रो तलबको व्यवस्था गर , दया हामीलाई चाहिदैन अधिकार खोस्न पाइदैन, सेवा हामीले रोकेनौँ, भोकले आँखा देखेनौ जस्ता प्लेकार्ड बोेकका थिए । आन्दोलनमा धादिङका एडभान्स एकेडेमी, सुनगाभा एकेडेमी, धादिङ बोर्डिङ, चिल्ड्रेनपार्क, रोजमेरी स्कुल लगायतका शिक्षकहरुको उपस्थिति रहेको थियो । मागको उचित सम्बोधन नभए थप आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने शिक्षक कपिल जम्कट्टेलले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस