कृष्ण बहादुर लामिछाने
गोरखा जेष्ठ २
संस्कृत माध्यमिक विद्यालय तान्द्राङ गोरखामा वडा स्तरीय आधारभुत कम्प्युटर तालिम सञ्चालन भएको छ । गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ३ तान्द्राङको आर्थिक सहयोग र संस्कृत माध्यमिक विद्यालय तान्द्राङको भौतिक व्यवस्थापन एवम् प्राविधिक सहयोगमा वडा स्तरीय आधारभुत कम्प्युटर तालिम सञ्चालन गरिएको हो । २१ औँ शताब्दीको लागि आवश्यक प्रविधिमा क्षमता अभिवृद्धि गरी वडाका युवा जनशक्तिलाई सुचना तथा प्रविधीको क्षेत्रमा सवल र सक्षम बनाउने उदेश्यका साथ वडा स्तरीय आधारभूत तालिम सञ्चालन गरिएको हो । तालिमको उद्घाटन विद्यालयमा जडान गरिएको स्मार्ट बोर्डको डिस्प्लेमा रिमोर्टबाट डिजिटल ब्यानर प्रर्दशन गरी उद्घाटन गरिएको थियो । संस्कृत माध्यमिक विद्यालयका कम्पुटर प्राविधिक शिक्षक रमेश तिमल्सेना प्रशिक्षण गर्ने आधारभूत कम्पुटर तालिममा २० जनाको सहभागिता रहेको छ । तालिम बिहीबारबाट सुरु भई असार ९ गते समापन हुने छ । संस्कृत माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर लामिछानेको अध्यक्षता रहेको उद्घाटन कार्यक्रममा भिमसेन थापा गाउँपालिका वडा नम्बर ३ का कार्यवाहक वडा अध्यक्ष राम्जी प्रसाद दाहालको प्रमुख आतिथ्यता रहेको थियो । विद्यालयका प्रधानाध्यपक श्याम प्रसाद लामिछाने, शिक्षक अभिभावक संघका अध्यक्ष केशरी प्रसाद खनाल, प्रशिक्षक रमेश तिमल्सेना लगायतको विशेष आतिथ्यता रहेको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरु शिक्षक अभिभावक संघका सदस्यहरु, तालिमका सहभागिहरुको उपस्थिति रहेको थियो । प्रमुख अतिथि समेत रहनुभएका कार्यवहाक वडा अध्यक्ष राम्जी प्रसाद दाहालले कार्यक्रमलाई सम्वोधन गर्दै यस विद्यालयमा हाल उपलब्ध कम्पुटर सङ्ख्याका हिसाबले एकपटकमा २० जनालाई तालिम दिन सक्ने क्षमता रहेकोमा आगामी वर्ष ५० जनासम्मलाई एकैपटक तालिम दिन मिल्ने गरी विद्यालयलाई कम्पुटर सङ्ख्याको प्रबन्ध गर्ने वडा समितिको तर्फबाट प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस