बिक्रम अधिकारी
असार २४, धादिङ
पृथ्वीराजमार्ग अन्तर्गत आदमघाटबाट गजुरी गाउँपालिका ७ र ८ अर्थात साबिकको किरान्चोक गाबिस जाने सडक विगतको बर्खामा जस्तै यो वर्ष पनि हिलाम्मे बनेको छ । उक्त सडक खण्डको आदमघाट नजिकको केही स्थानसँगै मिलनटार, जैसिटार, पर्खाले, बगैँचा र कर्कले लगाएतका विभिन्न ठाउँहरुमा सवारी आवागमन नै ठप्प हुने गरी क्षति पुगेको छ । केही समयअघि मात्र निर्माण गरिएको केही ठाउँको पक्की नाली तथा मेसिनरी वाल समेत लडिसकेको छ । जसको कारण बृद्ध असक्त, असहाय र सुत्केरी लगाएत विभिन्न प्रकृतिका बिरामीहरुको आवतजावतमा बर्सेनी समस्या झेल्नु परेको छ । सडक मर्मतको जिम्मा लिने ठेकेदार कम्पनीले समयमै काम नगर्नु, स्थानीय तह को बजेट आर्थिक वर्ष सकिनै लाग्दा अन्धाधुन्ध रुपमा प्रयोग गर्नु र स्थानीय जनप्रतिनिधिको बेवास्ताको कारण सडकको अवस्था लज्जास्पद रहेको स्थानीयको गुनासो रहेको छ । पछिल्लो समय किरान्चोकका युवाहरूले सामाजिक संजालमार्फत बाटोको फोटोसँगै स्थानीय जनप्रतिनिधि र आदमघाट लामाचिरा सडकको ठेक्का लिने जयबाबा कास्ठमन्डप जेभीका ठेकेदार श्याम श्रेष्ठको चर्को आलोचना गरिरहेका छन् ।
जयबाबा कास्ठमन्डप जेभी कम्पनी ले २०७४ असोज २० गते काम सम्पन्न गर्ने गरी आदमघाट किरान्चोक सडक खण्डको २०७३ श्रावण ११ गते सम्झौता गरेको थियो । उक्त कम्पनीले कुल ८,०३,३३,०७४ रुपैयाँ मा काम सम्पन्न गर्ने गरी ठेक्का लिएको हो । जस अन्तर्गत १० किलोमिटर कटिङ, ८०० मि × १ मि × १.२० फिलिङ गर्ने, ७४४० मिटर मेसिनरी वाल, २३०० मिटर ग्राभेल, २७०० मिटर पिच गर्नुपर्ने तेस्तै ६९४० मिटर कच्ची र ३०६० मिटर पक्की नाली बनाउने र हिम पाइप राख्नु पर्ने थियो । उक्त कम्पनीका ठेकेदार श्याम श्रेष्ठ विभिन्न समयमा आउँदै काम गरेको जस्तो गर्दै फरार छन् । उनले हालसम्म रु. ४,९७,३१,५४९.३७ र रकम बुझी सकेका छन तर बाटो को अवस्था भने नाजुक रहेको छ ।
स्थानीय युवाहरुले सामाजिक सञ्जालमा बिरोध स्वरुप गरेका केही पोस्टहरुः
दयनीय अवस्थाका सडकका केही तस्विरहरु
प्रतिक्रिया दिनुहोस